धनगढी, २२ जेठ/सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको १८औँ वार्षिक साधारण सभा तथा ९औँ अधिवेशन धनगढीमा सुरु भएको छ।
महासंघका अध्यक्ष लक्ष्मणबहादुर स्वाँरको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष प्रकाशबहादुर सेठी प्रमुख अतिथि रहेका थिए।
महासंघको नयाँ नेतृत्व चयनका लागि वर्तमान अध्यक्ष लक्ष्मणबहादुर स्वाँर र पूर्व केन्द्रीय सदस्य किशोर ठकुराठीको नेतृत्वमा छुट्टाछुट्टै प्यानल चुनावी मैदानमा उत्रिएका छन्।
अधिवेशनले आगामी कार्यसमिति चयन गर्ने भएकाले प्रदेशभरका निर्माण व्यवसायीहरूमा विशेष चासो देखिएको छ। सुदूरपश्चिमका नौवटै जिल्लाबाट छनोट भएका २८१ प्रतिनिधि (मतदाता) ले जेठ २३ गते धनगढीमा हुने निर्वाचनमा मतदान गर्नेछन्।
उद्घाटन समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको थियो। शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै धर्मदेव भट्टलाई सम्मान प्रदान गरियो।

जिल्लागत उत्कृष्ट निर्माण व्यवसायीअन्तर्गत कैलालीका दिनेश सिंह, कञ्चनपुरका पदमराज बोहरा, दार्चुलाका सर्वराज बडू, बैतडीका राजेन्द्रबहादुर चन्द, डडेल्धुराका सञ्जीवबहादुर विष्ट, बझाङका शेरबहादुर बोहरा, अछामका गौतम कुँवर, डोटीका घनश्यामदत्त पाठक तथा बाजुराका सुरतबहादुर शाह सम्मानित भए।

त्यसैगरी, समाजसेवातर्फ धनगढीका लक्ष्मीदत्त भट्ट र अछामका रविन्द्र शाहलाई सम्मान गरिएको थियो।
उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका अध्यक्ष, केन्द्रीय सदस्य, पूर्व प्रदेश तथा केन्द्रीय पदाधिकारी एवं सदस्यहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।



