मुख्यमन्त्री शाह अस्पताल उद्घाटनमा जाँदै, लम्कीमा प्रहरीको कडा निगरानी

भर्खरै

कैलाली/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीबीचको विवादका बीच आज लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन कार्यक्रम तय भएपछि क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
मुख्यमन्त्री शाह आज बिहान अस्पताल उद्घाटनका लागि लम्कीचुहा आउने कार्यक्रम रहेको छ । उनको आगमनअघि नै अस्पताल परिसर र आसपासका क्षेत्रमा उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको छ ।
१५ शय्याको लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनको विषयमा प्रदेश सरकार र नगरपालिकाबीच लामो समयदेखि विवाद चल्दै आएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अस्पताल सञ्चालनका लागि गत वैशाखमा मेडिकल सुपरिटेन्डेन्ट डा। कमलेशप्रसाद यादवसहित तीन जना कर्मचारी खटाएको थियो । तर मेयर शाहीले अस्पताल औपचारिक रूपमा प्रदेश सरकारलाई हस्तान्तरण नभएको भन्दै उनीहरूलाई हाजिर हुन नदिन निर्देशन दिएपछि विवाद चर्किएको थियो ।


विवादकै कारण गत वैशाख ३० गते अस्पतालमा तालाबन्दीसमेत गरिएको थियो, जसले लम्की क्षेत्रमा तनाव सिर्जना गरेको थियो ।
प्रदेश सरकारले प्रादेशिक अस्पताल सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गरी बजेट विनियोजन गरिसकेको जनाएको छ । तर नगरपालिकाले अस्पताल हस्तान्तरण गर्न अस्वीकार गरेपछि समस्या जटिल बन्दै गएको छ ।
स्थानीय स्तरमा भने सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने मुख्यमन्त्री शाह र मेयर शाहीबीचको राजनीतिक तथा आन्तरिक द्वन्द्वका कारण अस्पताल विवाद थप पेचिलो बनेको आरोप लाग्दै आएको छ ।
आजको उद्घाटन कार्यक्रमका क्रममा मेयर शाही समर्थकहरूले प्रदर्शन तथा अवरोध गर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।