धनगढी/मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिद तथा इदगाहमा सामूहिक नमाज पढेर मनाइँदैछ । पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
इस्लाम धर्मअनुसार इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर इद मनाउने धार्मिक परम्परा रहेको छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा पुगेर सामूहिक नमाज अदा गर्ने गर्छन् । नमाजपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन रहेको छ ।
बकर इदका अवसरमा काठमाडौंको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम समुदायको उल्लेख्य उपस्थिति रहेको छ ।
यो पर्व त्याग, बलिदान, आपसी सद्भाव र मानव सेवाको प्रतीकका रूपमा मनाइने गरिन्छ ।



