सुदूरपश्चिममा वर्षा, चट्याङ र हावाहुरीको सम्भावना

भर्खरै

धनगढी, १६ जेठ/श्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा नेपाल नजिक सक्रिय रहेको न्यून चापीय रेखाको संयुक्त प्रभावका कारण सुदूरपश्चिम प्रदेशसहित देशका विभिन्न क्षेत्रमा मौसम बदली भई वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शनिबार जारी गरेको मौसम बुलेटिनमार्फत सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा वर्षा, चट्याङ, हावाहुरी र उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने जनाएको छ ।
हाल सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । देशभर सक्रिय मौसमी प्रणालीका कारण कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको अवस्था छ ।
महाशाखाका अनुसार शनिबार दिउँसो सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ । साथै, केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि कार्य तथा सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने बताइएको छ ।
उच्च हिमाली तथा हिमपात हुने क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेकाले पर्वतारोहण, पदयात्रा तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई विशेष सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । वर्षासँगै चट्याङको जोखिम पनि रहने भएकाले खुला स्थानमा बस्ने, रुखमुनि ओत लाग्ने तथा विद्युतीय उपकरणको प्रयोग गर्दा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि सुदूरपश्चिम प्रदेशको मौसम पूर्ण रूपमा सुधार हुने सम्भावना कम रहेको छ । प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहने र थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातसमेत हुन सक्ने जनाइएको छ ।
मौसमविद्हरूले पश्चिमी वायु प्रणालीको प्रभाव अझै केही समय कायम रहने भएकाले मौसमको नियमित जानकारी लिन र आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । विशेषगरी नदी किनार, पहिरोको जोखिम रहेका क्षेत्र तथा खुला स्थानमा काम गर्ने व्यक्तिहरूलाई सतर्क रहन सुझाव दिइएको छ ।
विभागले मौसममा आउने सम्भावित परिवर्तनबारे अद्यावधिक जानकारीका लागि आधिकारिक मौसम बुलेटिन तथा सूचनाहरू नियमित रूपमा हेर्न अनुरोध गरेको छ।