धनगढी, १८ जेठ/माटो संरक्षण, माटोको स्वास्थ्य सुधार तथा दिगो कृषि प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले सरोकारवालाहरूले साझा प्रतिबद्धता व्यक्त गरेका छन्। धनगढीमा आयोजित एक कार्यशालामा प्रदेश सरकार, स्थानीय तह, कृषि क्षेत्रका विज्ञ, सहयोगी संस्था तथा समुदायका प्रतिनिधिहरूले माटोलाई जीवित प्राकृतिक सम्पत्तिका रूपमा स्वीकार गर्दै यसको संरक्षण र सुधारका लागि संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाएका हुन्।
‘जीविकोपार्जन र जैविक विविधताका लागि समुदायको सशक्तीकरण’ कार्यक्रम अन्तर्गत आयोजित कार्यशालाको समापनमा सहभागीहरूले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै माटो संरक्षण र उर्वराशक्ति वृद्धिका लागि सामूहिक प्रयासलाई अगाडि बढाउने घोषणा गरेका थिए।
प्रतिबद्धता पत्रमा माटोको गुणस्तर संरक्षण तथा उर्वराशक्ति अभिवृद्धिका लागि सरकारी निकाय, स्थानीय तह, कृषि प्राविधिक तथा समुदायबीच सहकार्य बढाउने, रासायनिक मल तथा विषादीको अनुचित प्रयोग न्यूनीकरण गर्ने, नियमित माटो परीक्षणलाई प्राथमिकता दिने तथा माटो संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने विषय समेटिएका छन्।
त्यसैगरी, सुरक्षित खाद्य प्रणालीको विकास, मानव स्वास्थ्य संरक्षण, माटोमैत्री कृषि अभ्यासको प्रवर्द्धन तथा माटोसम्बन्धी नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयनमा सहकार्य गर्ने प्रतिबद्धता पनि जनाइएको छ। सहभागीहरूले भावी पुस्ताका लागि स्वस्थ, उर्वर र उत्पादनशील माटो संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै त्यसका लागि आवश्यक पहलमा निरन्तर लागिरहने बताएका छन्।
कार्यक्रममा सहभागीहरूले कृषि उत्पादनको गुणस्तर सुधार गर्दै सुरक्षित कृषि उपजको बजार पहुँच विस्तारमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनीहरूले माटोको स्वास्थ्य सुधारले कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षा, वातावरण संरक्षण तथा नागरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
उक्त अभियानमा नेपाल रेडक्रस सोसाइटी कैलाली, ब्रिटिस रेडक्रस तथा जेओए लगायतका संस्थाहरूको सहयोग रहेको छ। कार्यक्रमको अन्त्यमा तयार गरिएको प्रतिबद्धता पत्रमा सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावत, विभिन्न गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्ष, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका योजना तथा अनुगमन महाशाखाका प्रकाशकुमार पन्त, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका सिनियर फुड रिसर्चर अफिसर हरिराम प्रधान, कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख घनश्याम चौधरी, ब्रिटिस रेडक्रसका टेक्निकल कोर्डिनेटर सुरेन्द्रबहादुर बम तथा नेपाल रेडक्रस सोसाइटी कैलालीका उपसभापति बलबहादुर रावलसहित कृषि शाखाका प्रमुख, प्राविधिक कर्मचारी, रेडक्रसकर्मी र अन्य सरोकारवालाहरूले हस्ताक्षर गरेका थिए।



