कैलाली/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्षबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ ।
१९औं गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले गणतन्त्रले नेपाली जनतालाई सार्वभौम अधिकार, समानता र लोकतान्त्रिक अभ्यासको सुनिश्चितता दिएको उल्लेख गर्नुभयो । उहाँका अनुसार वि.सं. २०६५ साल जेठ १५ गते स्थापना भएको गणतन्त्रले राज्य सञ्चालनमा जनताको प्रत्यक्ष सहभागिता स्थापित गरेको छ ।
मुख्यमन्त्री शाहले गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन बलिदान गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको योगदानको समेत स्मरण गर्नुभयो । उहाँले परिवर्तनका पक्षमा उभिएका राजनीतिक दल, सञ्चार क्षेत्र, नागरिक समाज तथा आम जनताप्रति सम्मान व्यक्त गर्नुभयो ।

उहाँले सुदूरपश्चिम प्रदेश कृषि, पर्यटन, जलस्रोत, जडीबुटी र प्राकृतिक सम्पदाका हिसाबले समृद्ध प्रदेश भएको उल्लेख गर्दै यी क्षेत्रको उपयोगमार्फत आर्थिक विकास र रोजगारी सिर्जना गर्न सकिने बताउनुभयो । भारत र चीनसँगको भौगोलिक निकटताले प्रदेशलाई व्यापार र लगानीको केन्द्रका रूपमा विकास गर्न सकिने उहाँको भनाइ थियो ।
प्रदेश सरकारले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिँदै उहाँले सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई थप मजबुत बनाइने बताउनुभयो ।
मुख्यमन्त्री शाहले आत्मनिर्भर र समृद्ध सुदूरपश्चिम निर्माणका लागि संघ, स्थानीय तह, निजी क्षेत्र र नागरिकबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले संविधानको प्रभावकारी कार्यान्वयन, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्यको संरक्षणमार्फत समृद्ध नेपाल निर्माणमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।




