भिम चौधरी
धनगढी, १६ जेठ/डेढ दशकभन्दा बढी समय पत्रकारितामा सक्रिय रहेका दिनेश दहित आजभोलि समाचारको खोजीमा भन्दा होमस्टे पर्यटनको प्रवर्द्धनमा बढी व्यस्त देखिन्छन् । कुनै समय समाचार लेखन, रिपोर्टिङ र संगठनात्मक गतिविधिमा सक्रिय रहने उनी अहिले सुदूरपश्चिमका गाउँ–गाउँ पुगेर होमस्टे व्यवसायको सम्भावना, चुनौती र विकासका विषयमा छलफल गरिरहेका छन् ।
पत्रकारिताबाट चिनिएका दहित पछिल्लो पाँच वर्षयता भने होमस्टे अभियानका अभियन्ताका रूपमा स्थापित हुँदै गएका छन् । २०८० सालमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित विजय साल होमस्टेमा सम्पन्न अधिवेशनबाट उनी होमस्टे (घरवास) महासंघ नेपालको सुदूरपश्चिम प्रदेश अध्यक्षमा निर्वाचित भए । त्यसयता उनको प्राथमिकता पत्रकारिता नभई पर्यटन र होमस्टे प्रवर्द्धन बनेको छ ।
प्रदेश अध्यक्षको जिम्मेवारी सम्हालेपछि उनी पत्रकारितामा सक्रिय देखिएका छैनन् । बरु देशका विभिन्न जिल्लामा रहेका होमस्टेहरूको अवलोकन, अनुभव आदानप्रदान र नेटवर्क विस्तारमा निरन्तर सक्रिय छन् ।

दहितका लागि होमस्टे अभियान केवल संगठनात्मक जिम्मेवारी मात्र होइन, व्यक्तिगत अभ्यास पनि हो । उनले २०७८ सालमा कैलालीको गौरीगंगा नगरपालिका–१० मा ‘नुक्लिपुर होमस्टे’ स्थापना गरेका थिए । त्यही वर्षदेखि उनले पाहुना स्वागत गर्न सुरु गरे ।
पूर्व–पश्चिम राजमार्गको बढैपुर क्षेत्रबाट करिब साढे ६ किलोमिटर दक्षिणमा रहेको उक्त होमस्टेमा हाल पाँच घर सञ्चालनमा छन् । थारु समुदायको मौलिक संस्कृति, परम्परागत खानपान, स्थानीय जीवनशैली र ग्रामीण परिवेश अनुभव गर्न चाहने पाहुनाका लागि नुक्लिपुर होमस्टे आकर्षणको केन्द्र बन्दै गएको छ ।
पत्रकारितामा रहँदा दहितले विभिन्न जिम्मेवारी सम्हालेका थिए । नेपाल पत्रकार महासंघ कैलाली शाखाका पूर्व सह–सचिव रहेका उनी नेपाल प्रेस युनियन कैलालीका पूर्व उपाध्यक्ष पनि हुन् । हाल उनी थारु पत्रकार संघ कैलालीको अध्यक्षको जिम्मेवारीमा छन् ।
तर पछिल्ला वर्षहरूमा उनको मुख्य चिन्ता सुदूरपश्चिमको पर्यटन सम्भावनालाई उजागर गर्नु बनेको छ ।

यही अभियानको एक महत्वपूर्ण कडीका रूपमा उनी यतिबेला दोस्रो सुदूरपश्चिम प्रदेशस्तरीय होमस्टे महोत्सवको तयारीमा व्यस्त छन् ।
जेठ १९ देखि २१ गतेसम्म धनगढी उपमहानगरपालिका–१६ भादा गाउँमा आयोजना हुने महोत्सवमा होमस्टे (घरवास) महासंघ नेपाल सुदूरपश्चिम प्रदेशले समन्वय र सहकार्य गरिरहेको छ । थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा हुने महोत्सवले सुदूरपश्चिमको पर्यटन क्षेत्रलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ ।
महोत्सवमा सुदूरपश्चिमका विभिन्न जिल्लाका होमस्टे सञ्चालकहरू मात्र होइन, देशका अन्य प्रदेशबाट पनि प्रतिनिधिहरू सहभागी हुने कार्यक्रम छ ।
आयोजकका अनुसार सुदूरपश्चिममा रहेका विभिन्न जातजाति तथा समुदायका संस्कार, संस्कृति, परम्परा, भेषभूषा, खानपान, सीपकला तथा पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्दै होमस्टे पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सवमा एक लाख २५ हजारभन्दा बढी पर्यटक तथा दर्शक भित्र्याउने लक्ष्य राखिएको छ ।

सुदूरपश्चिम प्रदेशमा हाल ३६ वटा होमस्टे दर्ता भएका छन् । तीमध्ये पाँच वटा सञ्चालनमा नरहे पनि बाँकी अधिकांश होमस्टे महोत्सवमा आ–आफ्नो सांस्कृतिक प्रस्तुति र विशेषतासहित सहभागी हुनेछन् । बाजुरा बाहेक सुदूरपश्चिमका सबै जिल्लामा होमस्टे सञ्चालनमा रहेको तथ्यांकले पनि प्रदेशमा ग्रामीण पर्यटनको सम्भावना विस्तार हुँदै गएको संकेत गर्छ ।
महोत्सव केवल सांस्कृतिक कार्यक्रमको जमघट मात्र हुने छैन । यहाँ सुदूरपश्चिमका विभिन्न समुदायका नाचगान, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, परम्परागत खानाका परिकार, थारु हस्तकलाको प्रदर्शनी र पर्यटनसँग जोडिएका गतिविधि समेटिनेछन् ।
त्यसैगरी, कैलालीका पूर्वी क्षेत्रका होमस्टेहरूको अवलोकन, कर्णाली नदीमा राफ्टिङ, स्लो साइकल रेस, घैटा फोर, भलाद्मी दौड, पेनाल्टी सुटआउट जस्ता प्रतियोगिताले महोत्सवलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ । महोत्सव अवधिभर हरेक बिहान योगा कार्यक्रमसमेत सञ्चालन हुनेछ ।
पत्रकारिताको माध्यमबाट समाजका कथा सुनाउने काम गरेका दिनेश दहित अहिले पर्यटनका कथा लेखिरहेका छन्—कलमले होइन, अभियानमार्फत । उनको विश्वास छ, गाउँको संस्कृति, आतिथ्यता र मौलिकता नै सुदूरपश्चिमको पर्यटन विकासको सबैभन्दा ठूलो आधार हो ।



