फूलबारीका महिलालाई आत्मनिर्भर बनाउँदै बेहडाबाबा

भर्खरै

भिम चौधरी
धनगढी, १६ जेठ/कैलारी गाउँपालिका–४ नवलपुरकी शैलेश्वरी चौधरी केही वर्षअघिसम्म पढाइ खर्चका लागि परिवारसँग पैसा माग्न बाध्य थिइन् । क्याम्पसमा अध्ययनरत शैलेश्वरीको अधिकांश समय पढाइमै बित्थ्यो । आफ्नो व्यक्तिगत खर्च जुटाउने कुनै माध्यम थिएन ।
तर, अहिले उनको दैनिकी फेरिएको छ । क्याम्पसको पढाइसँगै फुर्सदको समयमा खटिया बुन्ने काम गरेर उनी आफ्नै खर्च आफैं व्यवस्थापन गर्न थालेकी छन् ।
“पहिले पढाइ खर्चका लागि घरबाट पैसा माग्नुपर्थ्यो । अहिले खटिया बुनेर आएको पैसाले आफ्नो खर्च आफैं धान्न सकेकी छु,” उनी भन्छिन् । पढाइको सिलसिलामा धनगढी उपमहानगरपालिका–१८ फूलबारीमा बस्दै आएकी हुन्।


शैलेश्वरी जस्तै धनगढी उपमहानगरपालिका–१८ फूलबारीकी प्रमिला चौधरीको जीवनमा पनि खटिया बुन्ने सीपले नयाँ मोड ल्याएको छ । पहिले खाली समयमा मोबाइल चलाएर दिन बिताउने उनी अहिले त्यही समयलाई आम्दानीसँग जोड्न सफल भएकी छन् ।
“समय गएको थाहा नै हुँदैन । खटिया बुन्दै जाँदा काम पनि हुन्छ र आम्दानी पनि । त्यही पैसाले घरखर्चमा सहयोग पुगेको छ,” प्रमिला सुनाउँछिन् ।
दुर्गा देवी चौधरीका लागि पनि यो सीप आम्दानीको भरपर्दो माध्यम बनेको छ । खेतीपाती, गाईवस्तुको हेरचाह र घरायसी कामसँगै उनी खटिया बुन्ने काममा सक्रिय छिन् ।
“खेतीपाती पनि गर्छु, गाईबस्तु पनि हेर्छु, खटिया पनि बुन्छु । पहिले खर्चका लागि श्रीमानसँग पैसा माग्नुपर्थ्यो । अहिले आफैं कमाउँछु र आफ्नै आवश्यकता पूरा गर्छु,” दुर्गा भन्छिन् ।
यी प्रतिनिधि पात्र मात्र हुन् । फूलबारी क्षेत्रमा यस्ता धेरै महिला छन्, जसले खटिया बुन्ने सीपलाई आम्दानीको स्रोत बनाएका छन् । बिहान खाना पकाउने, बालबालिकालाई विद्यालय पठाउने र घरायसी काम सकिएपछि उनीहरू फुर्सदको समय खटिया बुन्नमै खर्च गर्छन् ।
उनीहरूका अनुसार गर्मीमा चर्को घाममा मजदुरी गर्नुभन्दा घरकै आँगन वा छहारीमा बसेर काम गर्न पाउँदा सहज पनि भएको छ र सम्मानजनक आम्दानी पनि भइरहेको छ ।
यस परिवर्तनको केन्द्रमा छ धनगढी–७ मनेहरामा रहेको बेहडाबाबा मेटल उद्योग । उद्योगले फूलबारी क्षेत्रमा तीन वटा महिला समूह गठन गरी खटिया बुन्ने तालिम सञ्चालन गरेको छ । तालिमपछि महिलाहरूलाई आवश्यक सामग्री, खटियाको फ्रेम र डोरी उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
महिला समूहकी अगुवा अनिता चौधरीका अनुसार पहिले खटिया बुन्न सिक्न र सामग्री लिन टाढासम्म पुग्नुपर्थ्यो । अहिले उद्योगले गाउँमै सामग्री उपलब्ध गराउने भएकाले महिलाहरूलाई काम गर्न सहज भएको छ ।
“पहिले देवहरिया जानुपर्थ्यो । अहिले उद्योगले सामग्री गाउँमै ल्याइदिन्छ । त्यसैले महिलाहरू घरमै बसेर काम गर्न सकिरहेका छन्,” उनी भन्छिन् ।


बेहडाबाबा मेटल उद्योगले केवल तालिम दिने काम मात्र गरेको छैन । उत्पादनदेखि बजार व्यवस्थापनसम्मको जिम्मेवारी समेत सम्हाल्दै आएको छ । उद्योगमा तयार गरिएका खटियाका फ्रेम अटोमार्फत महिला समूहसम्म पुर्‍याइन्छ । महिलाहरूले बुनेका खटिया पुनः संकलन गरी गाउँगाउँ र बजारसम्म बिक्रीका लागि पठाइन्छ ।
यसले महिलाहरूलाई बजार खोज्ने झन्झटबाट मुक्त गरेको छ । उनीहरू उत्पादनमा केन्द्रित हुन पाएका छन् भने बिक्रीको जिम्मा उद्योगले लिएको छ ।
उद्योगका मेनेजर पुनम चौधरीका अनुसार खटिया बुन्ने महिलाहरूले दैनिक पाँच सयदेखि एक हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । एउटा खटिया तीन हजारदेखि चार हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।
“हामीले महिलाहरूलाई सीप मात्र दिएका छैनौं, उनीहरूले बनाएको उत्पादनको बजार पनि सुनिश्चित गरेका छौं । यसले महिलाहरूको आयआर्जन बढेको छ,” पुनम भन्छिन् ।
उद्योगको यो पहलले महिलाहरूलाई मात्र होइन, अन्य धेरै व्यक्तिलाई पनि रोजगारी दिएको छ । फ्रेम निर्माणमा मिस्त्री, वेल्डर, उद्योगका कामदार, अटो चालक तथा बिक्री वितरणमा संलग्न व्यक्तिहरूले समेत नियमित रोजगारी पाइरहेका छन् ।
स्थानीय स्रोत, स्थानीय सीप र स्थानीय श्रमलाई जोडेर उद्योगले गाउँमै आर्थिक गतिविधि बढाउन सहयोग गरिरहेको छ ।
एक समय खर्चका लागि परिवारमा निर्भर रहनुपर्ने महिलाहरू अहिले आफ्नै कमाइबाट घरखर्च चलाउन थालेका छन् । उनीहरूको आत्मविश्वास बढेको छ । निर्णय गर्ने क्षमता विकास भएको छ । र, सबैभन्दा महत्वपूर्ण कुरा, उनीहरूले आफ्नै श्रमबाट सम्मानजनक आम्दानी गर्न सकिन्छ भन्ने विश्वास पाएका छन् ।