धनगढी, १८ जेठ/धनगढीमा माटो संरक्षण तथा स्वास्थ्य सुधार सम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी कैलाली र सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा आयोजित कार्यशालामा माटोको गुणस्तर खस्कँदै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै यसको संरक्षण र सुधारका लागि सरकार, स्थानीय तह, कृषि प्राविधिक तथा समुदायको साझा पहल आवश्यक रहेकोमा जोड दिइएको छ।
‘जीविकोपार्जन र जैविक विविधताका लागि समुदायको सशक्तीकरण’ कार्यक्रम अन्तर्गत आयोजित कार्यशालामा सहभागी विज्ञहरूले बढ्दो रासायनिक मल तथा विषादीको प्रयोग, अव्यवस्थित खेती प्रणाली र प्राकृतिक स्रोतको दोहनका कारण माटोको उर्वराशक्ति घट्दै गएको बताएका थिए। उनीहरूले दीगो कृषि प्रणालीको विकास, जैविक खेतीको प्रवर्द्धन र माटो परीक्षणलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन्।
कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशको योजना तथा अनुगमन महाशाखाका प्रकाशकुमार पन्तले माटोको वर्तमान अवस्था, माटोमा देखिएका समस्या, रासायनिक पदार्थको अत्यधिक प्रयोगबाट पर्ने असर तथा सुधारका उपायबारे प्रस्तुति दिएका थिए। उनले माटोको स्वास्थ्य बिग्रँदा कृषि उत्पादनमा प्रत्यक्ष असर पर्ने भएकाले यसको संरक्षणलाई कृषि नीतिको केन्द्रमा राख्नुपर्ने बताए।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका सिनियर फुड रिसर्चर अफिसर हरिराम प्रधानले फलफूल तथा तरकारीमा रहेका कीटनाशक अवशेषको द्रुत जैविक परीक्षणबारे जानकारी गराउँदै खाद्य सुरक्षासँग माटोको स्वास्थ्य प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरे। उनले उत्पादनदेखि उपभोगसम्म सुरक्षित खाद्य प्रणाली निर्माणका लागि विषादीको प्रयोगमा सचेत हुनुपर्ने धारणा राखे।
कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख घनश्याम चौधरीले माटोको स्वास्थ्य संरक्षण तथा संवर्द्धनका लागि सञ्चालन गरिएका कार्यक्रम, उपलब्धि र चुनौतीबारे जानकारी दिएका थिए। उनले किसानमा माटो परीक्षण गर्ने बानीको अभाव, जैविक मलको सीमित प्रयोग तथा प्राविधिक सेवाको पहुँच चुनौतीका रूपमा रहेको बताए।
ब्रिटिस रेडक्रसका टेक्निकल कोर्डिनेटर सुरेन्द्रबहादुर बमले माटो संरक्षण र स्वास्थ्य प्रवर्द्धन सम्बन्धी विषयमा सहजीकरण गर्दै जलवायु परिवर्तन, भूमिको क्षयीकरण र जैविक विविधताको संरक्षणबीचको सम्बन्धबारे प्रकाश पारेका थिए। उनले समुदायस्तरमा सचेतना अभिवृद्धि र व्यवहार परिवर्तन आवश्यक रहेको बताए।
नेपाल रेडक्रस सोसाइटी कैलालीका उपसभापति बलबहादुर रावलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा सहभागी भएका थिए। मन्त्री थापाले प्रदेश सरकारले माटो संरक्षण, जैविक कृषि प्रवर्द्धन तथा कृषकको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। उनले स्वस्थ माटो बिना कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षा सम्भव नहुने उल्लेख गर्दै यस क्षेत्रमा लगानी र नीतिगत सुधारलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावतले स्थानीय तहहरूले पनि माटो संरक्षण, जैविक मलको प्रयोग र वातावरणमैत्री कृषि अभ्यासलाई प्रोत्साहन गर्दै आएको बताए। उनले कृषिलाई दीगो र उत्पादनमुखी बनाउन माटोको स्वास्थ्य सुधार अपरिहार्य रहेको धारणा राखे।
कार्यशालामा मोहन्याल गाउँपालिका तथा जोशीपुर गाउँपालिकाका अध्यक्षहरू, विभिन्न वडाका अध्यक्ष, कृषि शाखाका प्रमुख, प्राविधिक कर्मचारी, रेडक्रसकर्मी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमका सहभागीहरूले माटो संरक्षणलाई केवल कृषि क्षेत्रको विषय नभई वातावरण, स्वास्थ्य, खाद्य सुरक्षा र समग्र आर्थिक विकाससँग जोडिएको मुद्दाका रूपमा हेर्नुपर्ने बताएका छन्। उनीहरूले माटोको स्वास्थ्य सुधारका लागि स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्म संयुक्त प्रयास र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको निष्कर्ष निकाले।



