मौसम पूर्वानुमान महाशाखाको विशेष बुलेटिन : असोज ९ देखि ११ सम्म अति भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह

भर्खरै

धनगढी/आउँदो असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित ठूलो पानी पर्नेछ भएकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाले आज विशेष बुलेटिन निकाल्दै देशका विभिन्न ठाउँमा अति भारी वर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको हो ।
महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा भारीदेखि एक/दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ । मधेश, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ ।


उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भाग आसपास रहेको छ । यो प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्र बनेपछि पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको छ । यसको प्रभावले पर्सिबाटै कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने देखिएको छ ।
सम्भावित वर्षाका कारण भूक्षय, बाढी तथा पहिरोको जोखिम रहनुका साथै शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको छ । ठूला तथा साना नदी, नाला र खोलामा पानीको सतह बढ्न सक्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ ।
त्यसैले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण र सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ । मनसुनी प्रणालीको प्रभावले देशको हिमाली भूभागमा भारी हिमपात हुनसक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।