धनगढीमा असोज १० गते ‘नौ रङ्ग सुदूरको तरङ्ग’ नृत्य प्रतियोगिता

भर्खरै

धनगढी/सुदूरपश्चिमको मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले धनगढीमा ‘नौ रङ्ग सुदूरको तरङ्ग’ एकदिने खुला समूह नृत्य प्रतियोगिता आयोजना हुने भएको छ।
द प्यासन अफ डान्सको आयोजनामा प्रतियोगिता आगामी असोज १० गते शनिबार धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित रिद्धि सिद्धि प्यालेसमा हुनेछ । प्रतियोगिता बिहान १० बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।
द प्यासन अफ डान्सका सञ्चालक अनिल खत्रीका अनुसार प्रतियोगितामा सुदूरपश्चिमका लोकप्रिय तथा रैथाने नाचलाई प्राथमिकता दिइनेछ । मौलिक नृत्यको संरक्षणसँगै नयाँ पुस्तामा स्थानीय कला र संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए ।
प्रतियोगितामा प्रथम हुने समूहले २० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र, द्वितीयले १५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र तथा तृतीय हुने समूहले १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन । सान्त्वना पुरस्कारका रूपमा निःशुल्क नृत्य प्रशिक्षणको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रत्येक समूहमा न्यूनतम २ र अधिकतम १० जना सदस्य हुनुपर्नेछ। नृत्य तथा संस्कृति क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने आयोजकले जनाएको छ। दर्शकका लागि भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
प्रतियोगिताको नियमित दर्ता शुल्क २ हजार रुपैयाँ तोकिएको छ। निर्धारित समयपछि प्रतियोगिता सुरु हुनुभन्दा एक घण्टा अगाडिसम्म दर्ता गर्ने समूहले २ हजार ५ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
प्रतियोगितामा सहभागी हुन धनगढी पुष्पलाल चोक, बुद्ध मन्दिर नजिक रहेको द प्यासन डान्स स्टुडियोमा प्रत्यक्ष दर्ता गर्न सकिनेछ। उपस्थित हुन नसक्ने समूहले आयोजकले उपलब्ध गराएको सम्पर्क नम्बरमार्फत अनलाइन दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।
आयोजकले प्रतियोगितालाई सुदूरपश्चिमको मौलिक कला तथा संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने अभियानका रूपमा लिएको जनाएको छ। प्रदेशका कलेज, विद्यालय, नृत्य समूह तथा कलाकारलाई प्रतियोगितामा सहभागी हुन आग्रह गरिएको छ।
प्रतियोगिताको मुख्य प्रवद्र्धक बेलौरी नगरपालिका रहेको छ भने शैलेश्वरी सुनचाँदी पसल मुख्य प्रायोजक रहेको आयोजकले जनाएको छ। बुद्ध एकेडेमी र निसर्ग हस्पिटल सह–प्रायोजकका रूपमा रहेका छन् भने दाहाल पुस्तक पसलले ट्रफी संयोजन गरेको छ।
त्यस्तै, प्रतियोगितामा पुष्कर भट्ट, शारदा उपाध्याय, भरत साउँद, भीम बिष्ट, हिप्सन खड्का, रोशन शाही लगायतको सहयोग रहेको आयोजकले जनाएको छ।
आयोजकले सुदूरपश्चिमको मौलिक कला तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनमा योगदान र्पुयाउने अभियानका रूपमा प्रतियोगितालाई लिएको जनाएको छ। प्रदेशका विद्यालय, कलेज, नृत्य समूह तथा कलाकारहरूलाई प्रतियोगितामा सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ।