जोखिमपूर्ण अवस्थाबाहेक पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश

भर्खरै

काठमाडौं/सर्वोच्च अदालतले जोखिमपूर्ण अवस्थाबाहेक पक्राउ परेका व्यक्तिलाई हत्कडी नलगाउन प्रहरीका नाममा अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीशद्वय डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले प्रहरी प्रधान कार्यालयका नाममा आदेश जारी गर्दै पक्राउ परेका व्यक्तिको अवस्थाको वस्तुनिष्ठ मूल्यांकन गरेर मात्रै हत्कडी प्रयोग गर्न भनेको हो।
सर्वोच्चका अनुसार पक्राउ परेको व्यक्ति भाग्ने जोखिममा रहेको, हिंसात्मक व्यवहार गरेको वा आफू वा अरूलाई क्षति पुर्‍याउन सक्ने अवस्था भएमा मात्रै आवश्यकताअनुसार हत्कडी लगाउन सकिनेछ।
हत्कडी नलगाई नहुने अपरिहार्य परिस्थिति देखिएमा त्यसको कारण र प्रयोगको अभिलेखसमेत राख्न सर्वोच्चले प्रहरीलाई निर्देशन दिएको छ।
पक्राउ परेका सबै व्यक्तिलाई नियमित रूपमा हत्कडी लगाउने अभ्यास संवैधानिक तथा कानुनी व्यवस्थाको मर्मअनुकूल नभएको सर्वोच्चको आदेशमा उल्लेख छ।
प्रहरी ऐन, २०१२ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा पक्राउ परेका व्यक्ति भाग्न खोजेमा वा जोरजुलुम गरेमा नियन्त्रणमा लिन आवश्यक बल प्रयोग गर्न सकिने व्यवस्था छ। सोही व्यवस्थाको आधारमा प्रहरीले पक्राउ परेकालाई हत्कडी लगाउने अभ्यास गर्दै आएको थियो।
हत्कडीको गैरकानुनी प्रयोग भएको दाबी गर्दै विवेक चौधरी, रोशन आउजा र विकास यादवले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। सो रिटको अन्तिम टुंगो नलाग्दासम्म मनमौजी रूपमा हत्कडी नलगाउन सर्वोच्चले आदेश दिएको हो।