धनगढी/रोयल इन्फिल्डले हन्टर ३५० को नयाँ भेरियन्ट तथा दुई नयाँ रंग सार्वजनिक गरेको छ । कम्पनीले टारम्याक ब्ल्याक रंगमा नयाँ आधार प्रिमियम भेरियन्ट तथा मुम्बई यल्लो र मुनसट ह्वाइट गरी दुई नयाँ रंग थपेको हो । नयाँ भेरियन्टमा मिश्रधातुका पाङ्ग्रा, डिजिटल–एनालग उपकरण समूह, नयाँ राइडर इन्टरफेस, सिलाइयुक्त सिट, स्पोर्टी ग्राब रेल, एकल च्यानल एबीएस तथा स्लिप एन्ड असिस्ट क्लच लगायतका सुविधा रहेको भुमी अटो हवका सञ्चालक डिल्लीराज उपाध्यायले बताउँनुभयो ।

सञ्चालक उपाध्यायका अनुसार नयाँ रंगहरूले ग्राहकलाई आफ्नो रुचि र शैलीअनुसार मोटरसाइकल छनोट गर्ने थप अवसर दिनेछन । हन्टर ३५० आफ्नो आधुनिक–रेट्रो डिजाइन, सहज राइडिङ तथा चुस्त ह्यान्डलिङका कारण लोकप्रिय हुँदै आएको कम्पनीको दाबी छ। सन् १९०१ देखि निरन्तर उत्पादन हुँदै आएको रोयल इन्फिल्ड विश्वकै पुरानो मोटरसाइकल ब्रान्डमध्ये एक हो । बेलायतबाट सुरु भएको यसको उत्पादन सन् १९५५ देखि भारतको मद्रासमा हुँदै आएको छ ।



