धनगढी–५ मा असोज ८ देखि जेईविरुद्ध खोप अभियान, ९ हजार १६१ जनालाई खोप लगाइने

भर्खरै

धनगढी/धनगढी उपमहानगरपालिका–५ मा जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्धको खोप अभियान असोज ८ गतेदेखि सञ्चालन हुने भएको छ ।
वडा खोप समन्वय समिति तथा महिला स्वास्थ्य स्वयंसेविका अभिमुखीकरण कार्यक्रममा अभियानबारे जानकारी दिइएको हो । अभियानअन्तर्गत असोज ८ देखि १८ गतेसम्म विभिन्न स्थानमा खोप केन्द्र सञ्चालन गरी ९ हजार १६१ जनालाई खोप लगाउने लक्ष्य राखिएको आधारभूत स्वास्थ्य सेवा केन्द्र (वडा स्वास्थ्य क्लिनिक) का लक्ष्मीप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
उहाँका अनुसार खोप अभियानअन्तर्गत प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएका केन्द्रमा खोप लगाइनेछ ।
खोप केन्द्र र मिति
असोज ८ र ९ गते – सामुदायिक प्रहरी सेवा केन्द्र, हसनपुर
असोज १० गते – ग्यालेक्सी बोर्डिङ स्कुल ‘बी’ ब्लक, हसनपुर
असोज ११ गते – एक्सिस बोर्डिङ स्कुल, हसनपुर
असोज १२ गते – शैलेश्वरी बोर्डिङ स्कुल, जाइ
असोज १३ गते – चैतन्य पाठशाला, शिवनगर
असोज १४ गते – राष्ट्रिय आधारभूत विद्यालय, तारानगर
असोज १५ गते – बालबिहानी बोर्डिङ स्कुल, तारानगर
असोज १६ गते – बडिमालिका टोल, तारानगर
असोज १७ गते – शारदा बोर्डिङ स्कुल, तारानगर
असोज १८ गते – आधारभूत स्वास्थ्य केन्द्र, जाइ
उपाध्यायले जापानिज इन्सेफ्लाइटिसबाट जोगिन लक्षित व्यक्तिले अभियानमा सहभागी भई खोप लगाउन आग्रह गर्नुभयो । अभियान अन्तर्गत ३० वर्ष उमेर माथीका सबैलाई खोप लगाउने बताउँनुभयो ।
के हो जापानिज इन्सेफ्लाइटिस ?
जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । यसले मुख्यतः मस्तिष्कमा असर गर्ने भएकाले संक्रमण गम्भीर बन्न सक्ने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले बताउनुभयो ।
कुँवरका अनुसार जेई मानिसबाट मानिसमा सर्दैन । संक्रमित लामखुट्टेको टोकाइबाट भाइरस मानिसको शरीरमा प्रवेश गर्न सक्छ । संक्रमित सबै व्यक्तिमा लक्षण नदेखिए पनि लक्षण देखिएका अवस्थामा उच्च ज्वरो, टाउको दुख्ने, वाकवाकी लाग्ने, शरीर कमजोर हुने, कम्पन हुने तथा घाँटीमा असहजता हुनेजस्ता समस्या देखिन सक्छन् ।
रोगबाट बच्न खोपसँगै लामखुट्टे नियन्त्रण र सरसफाइमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । घरका झ्यालढोकामा जाली लगाउने, घरवरिपरि पानी जम्न नदिने तथा पूरा बाहुला भएका कपडा लगाउनेजस्ता उपाय अपनाउन उहाँको सुझाव छ ।
जेईको संक्रमण चक्रमा सुँगुर, बंगुर, हाँस, कुखुरा तथा अन्य चराचुरुङ्गी र लामखुट्टेको भूमिका रहने भएकाले यस्ता पशुपन्छीलाई बस्ती तथा घरबाट केही टाढा व्यवस्थित रूपमा पाल्नुपर्ने कुँवरले बताउनुभयो ।
जेईको शंका लागेमा नियन्त्रण तथा व्यवस्थापनका लागि स्थानीय तहले आवश्यक काम गर्ने र संक्रमण भए–नभएको यकिन गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने उहाँले जानकारी दिनुभयो ।
धनगढी–५ मा आयोजित कार्यक्रममा वडाका विभिन्न विद्यालयका प्रधानाध्यापक, टोल विकास समितिका अध्यक्ष, शिक्षक तथा महिला स्वास्थ्य स्वयंसेविकालगायतको सहभागिता थियो ।