काठमाडौं/काठमाडौंको त्रिपुरेश्वरमा चालकले मिनिबसमा आफैं आगो लगाएको घटनाको छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ।
उपत्यका प्रहरी कार्यालयले एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो। उपत्यका प्रहरी कार्यालयका प्रवक्ता डीआईजी गोविन्द थपलियाका अनुसार समितिलाई घटनाको यथाशीघ्र छानबिन गरी दोषीलाई कारबाहीका लागि सिफारिस गर्ने कार्यादेश दिइएको छ।
सोमबार दिउँसो १२ः१५ बजे राहदानी विभागअगाडिको बस पकेटमा रिद्धिसिद्ध यातायातको बा.५ ख ४२७४ नम्बरको मिनिबसमा चालकले आगो लगाएका थिए।
प्रहरीका अनुसार काभ्रेको पनौती घर भएका २५ वर्षीय चालक दावा लामाले चालक सिटमै बसेर बसमा आगो लगाएका थिए। आगलागीमा लामाको शरीर करिब ९५ प्रतिशत जलेको प्रहरीले जनाएको छ।
अनावश्यक हर्न बजाएको आरोपमा ट्राफिक प्रहरीले कागजात माग्दै कारबाही गर्न खोजेपछि लामाले आफूले गल्ती नगरेको भन्दै विवाद गरेका थिए। उनले कागजात नदिएपछि थप ट्राफिक प्रहरी तथा सशस्त्र प्रहरीका सुरक्षाकर्मीले सम्झाउने प्रयास गरेको घटनाको भिडियोमा देखिन्छ।
त्यसपछि त्रिपुरेश्वर चोकमा मिनिबस तेर्साएर बाटो अवरुद्ध गरेको र केही समयपछि बसभित्रै आगो लगाएको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा देखिएको छ।
घटनाको वास्तविक कारण, आगजनीको अवस्थिति तथा सम्बन्धित पक्षको भूमिकाबारे समितिले छानबिन गर्ने प्रहरीले जनाएको छ।



