जनकपुरधाम, १ असोज/धनुषामा स्रोत नखुलेको १३ लाख ६५ हजार रुपियाँ नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्लाको धनौजी गाउँपालिका–२ स्थित गोरदाहा–देउरी भित्री सडकखण्डमा मोटरसाइकल जाँच गर्ने क्रममा भारतको मधुवनी जिल्लास्थित खौनाका ३५ वर्षीय राधाकान्त बयार पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार बुधबार प्रहरी चौकी धनौजी (ख) बाट प्रहरी सहायक निरीक्षक राजकुमार मिश्रको कमान्डमा खटिएको प्रहरीको गस्ती टोलीले लखौरीबाट गोरदाहातर्फ आउँदै गरेको बीआर ३२ बीबी १८९९ नम्बरको मोटरसाइकल रोकेर जाँच गरेको थियो ।
जाँचका क्रममा बयारले कपडाको पेटीभित्र १३ लाख ६५ हजार रुपियाँ राखेर कम्मरमा बाँधेको अवस्थामा रकम फेला परेको प्रहरीले जनाएको छ । बरामद रकमको स्रोत खुलाउन नसकेपछि बयारलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता खनालले बताए ।
उनका अनुसार बयारविरुद्ध मुलुकी अपराध संहिता, २)७४ को दफा १२५ (क) तथा नेपाल राष्ट्र बैङ्क ऐन, २)५८ को दफा (५ बमोजिम अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीले बरामद रकमको स्रोत, ओसारपसारको उद्देश्य तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे अनुसन्धान गरिरहेको जनाएको छ ।



