धनगढी/धनगढी उपमहानगरपालिका–१७ डमौलियाको पिपलबाटे क्षेत्रमा स्थानीयवासीको आर्थिक सहयोग र श्रमदानबाट चौतारो निर्माण सुरु गरिएको छ।
आफ्नो गाउँ–ठाउँको आवश्यकता स्थानीयस्तरबाटै पूरा गर्ने उद्देश्यले समाजसेवी युवा पुष्पराज रानाको पहलमा चौतारो निर्माण थालिएको हो। रानाको पहलमा यसअघि वडा क्षेत्रभित्र पाँचवटा चौतारा निर्माण भइसकेका छन्।
‘हामीले हाम्रा ठाउँका लागि’ अभियानअन्तर्गत निर्माण भइरहेको चौतारोका लागि स्थानीयले नगद, निर्माण सामग्री र श्रमदानमार्फत सहयोग गरिरहेका छन्।
चौतारो निर्माणका लागि हालसम्म लालबहादुर चौधरीले २०० इँटा र २ हजार ५ रुपैयाँ, भरत सिराडीले आवश्यक सम्पूर्ण बालुवा र २ हजार ५ सय ५५ रुपैयाँ, सौगात ओझाले २ हजार रुपैयाँ, जितबहादुर खत्रीले दुई कट्टा सिमेन्ट सहयोग गरेका छन्।
त्यस्तै, गंगाराम रानाले १ हजार ५५ रुपैयाँ, चन्द्रादेवी बोगटीले ५ सय २५ रुपैयाँ, राजेन्द्र छेडालले ५ सय ५ रुपैयाँ तथा सुशील चौधरीले ५ सय रुपैयाँसहित श्रमदान गरेका छन्।
समाजसेवी रानाले समुदायको आवश्यकताअनुसार स्थानीयस्तरमै सहकार्य र सहभागिता जुटाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए। स्थानीयको सहयोग र श्रमदानबाट चौतारो निर्माण सम्पन्न गरिने उनले बताए।
स्थानीय लक्ष्मीराज जोशीले गाउँको आवश्यकतालाई मध्यनजर गर्दै स्थानीयकै पहल र सहभागितामा चौतारो निर्माण अघि बढाइएको बताए।
स्थानीय विन्तीराम चौधरीले पनि गाउँवासीको सहभागितामा सार्वजनिक संरचना निर्माण गर्ने अभियानले समुदायमा सहकार्य र अपनत्वको भावना बढाउने बताए।
निर्माण सम्पन्न भएपछि चौतारो गाउँवासीका लागि विश्राम तथा सामाजिक भेटघाटको उपयोगी स्थल बन्ने अपेक्षा गरिएको छ।



