असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

भर्खरै


धनगढी/जल तथा मौसम विज्ञान विभागले आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
सोमबार साँझ जारी मनसुन विशेष मौसम बुलेटिनअनुसार बंगालको खाडीको मध्य भू–भागमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै ‘डिप डिप्रेसन’मा परिणत भएको छ। उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने भएकाले बुधबारदेखि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्ने विभागले जनाएको छ। असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने तथा एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान छ।
यस्तै, मधेस, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

राति यात्रा नगर्न आग्रह
सम्भावित भारी वर्षालाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले प्राधिकरणले अत्यन्त जरुरीबाहेक टाढा तथा रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ।
जोखिमयुक्त सडक तथा राजमार्गमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न तथा जोखिमयुक्त बस्तीका नागरिकलाई पूर्वसूचनाका आधारमा सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गर्न पनि सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
खोला, खहरे तथा पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन भनिएको छ।

कृषि र यातायातमा समेत असर पर्न सक्ने
सम्भावित वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्नुका साथै दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने विभागले जनाएको छ।
धानबाली भित्र्याउने समयसमेत रहेकाले किसानलाई मौसमको अवस्था हेरी कृषि विज्ञको सल्लाहअनुसार मात्र काम गर्न विभागले आग्रह गरेको छ।
हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई पनि उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।