चैतन्य हाफ म्याराथनको उपाधिसहित दोश्रो र तेश्रो पनि नेपाल आर्मी क्लबकै

भर्खरै

धनगढी, १ वैशाख/धनगढी जेसिजले नयाँ वर्षको अवसरमा आज धनगढीमा आयोजना भएको ११ औँ सस्करण “अब धनगढी दौडन्छ” चैतन्य धनगढी हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका खड्क बहादुर खडकाले हात पारेका छन्। उनले निर्धारित २१ दशमलव १ किलोमिटरको दुरी १ घण्टा ३ मिनेट २१ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन । यस्तै, निर्धारित दुरी पार गर्दै नेपाली सेनाकै राजन रोकाया १ घण्टा ६ मिनेट ७ सेकेण्डमा पार गर्दै दोश्रो र सेनाकै नरेन्द्र सिंह रावत १ घण्टा १० मिनेटमा पार गर्दै तेस्रो भए । उपाधिसँगै खड्काले नगद ७५ हजार प्राप्त गरे ।


खड्कालाई मुख्य प्रायोजन गरेको चैतन्य पाठशालाका सिइओ गणेश प्रसाद जोशीले नगद प्रदान गरेका थिए। उपविजेता रोकायाले नगद ५० हजार र रावतले नगद २५ हजार प्राप्त गरे। यस्तै, कर्पोरेट तर्फको ५ किलोमिटर दौडमा महिला तर्फ लक्ष्मी भट्टले प्रथम पुरस्कार प्राप्त गरिन।
त्यस्तै कमला बडुवाल र शान्ता वलि क्रमशः दोस्रो र तेस्रो भए। त्यस्तै पुरुष तर्फ विक्रम पार्की प्रथम भए। त्यसैगरि द्वितीय देवेन्द्र चन्द र तेस्रो चन्द नाथ भए। कर्पोरेट तर्फ महिला र पुरुष बिजेताले क्रमशः ७ हजार ५ सय, ५ हजार र २ हजार ५ सय नगद हात पारे।
त्यस्तै ट्राइसाइकल तर्फ सहभागी सम्पूर्णलाई पुरस्कृत गरिएको संयोजक दीपक गौतमले बताए। समापन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए। नयाँ वर्ष २०८१ का अवसरमा आयोजित हाफ म्याराथन प्रतियोगितामा मुकेशबहादुर पाल प्रथम भएका थिए । उनले २१ किलोमिटर दूरीको हाफ म्याराथन एक घण्टा सात मिनेट ५७ दशमलव ३५ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान प्राप्त गरेका थिए ।