धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट : रात्रिकालीन पर्यटनदेखि सीप विकाससम्म

भर्खरै

धनगढी/सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ६४ करोड ६४ लाख ६४ हजार ४६४ रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
नगरसभाको १५औँ अधिवेशनमा उपप्रमुख कन्दकला रानाले बजेट प्रस्तुत गर्दै चालुतर्फ १ अर्ब ४३ करोड ६३ लाख ८७ हजार ७८१ रुपैयाँ र पुँजीगततर्फ १ अर्ब २१ करोडभन्दा बढी रकम विनियोजन गरिएको जानकारी दिइन्।
उपप्रमुख रानाका अनुसार बजेटका लागि आन्तरिक आय, राजस्व बाँडफाँट, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण र चालु आर्थिक वर्षको बचतलाई स्रोतका रूपमा अनुमान गरिएको छ।
उपमहानगरपालिकाले आगामी वर्ष स्वास्थ्य, शिक्षा, पूर्वाधार, सीप विकास तथा रोजगारीलाई प्राथमिकतामा राखेको छ। वडा स्वास्थ्य क्लिनिकलाई थप प्रभावकारी बनाउने, ‘पढ्दै सिक्दै’ कार्यक्रममार्फत विद्यार्थीलाई सीपमूलक शिक्षा प्रदान गर्ने, नगर गौरवका आयोजना सञ्चालन गर्ने तथा वातावरणमैत्री पूर्वाधार विकासलाई निरन्तरता दिने नीति लिइएको छ।
त्यसैगरी सीप तथा रोजगार मेलालाई निरन्तरता दिने, सडक बत्ती व्यवस्थापनमार्फत मध्यकालीन बजार तथा रात्रिकालीन पर्यटन प्रवर्द्धन गर्ने योजना पनि बजेटमा समेटिएको छ।
बजेट प्रस्तुत गर्नुअघि बसेको नगरसभा बैठकमा उपप्रमुख रानाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसमेत प्रस्तुत गरेकी थिइन्।