सुदूरपश्चिमको तराईमा ‘लु’ चल्ने सम्भावना, पहाडी क्षेत्रमा वर्षा र चट्याङ

भर्खरै

धनगढी/मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा सोमबार तातो लहर (लु) चल्न सक्ने सम्भावना रहेको जनाएको छ। प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्ने भए पनि तराई क्षेत्रमा अत्यधिक गर्मी कायम रहने पूर्वानुमान गरिएको छ।
हाल देशभर पश्चिमी, स्थानीय तथा मनसुनी वायुको मिश्रित प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने पहाडी र हिमाली भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ।
महाशाखाले प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाएको छ। यद्यपि तराई क्षेत्रमा वर्षाको सम्भावना न्यून रहेकाले अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुन सक्ने अनुमान गरिएको छ।
विशेषगरी कैलाली र कञ्चनपुरलगायत तराईका जिल्लामा तातो लहर चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। गर्मीका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले अत्यावश्यक कामबाहेक दिउँसोको समयमा घाममा ननिस्कन, प्रशस्त पानी पिउन र सुरक्षित रहन सुझाव दिइएको छ।
मौसमविद्हरूले पहाडी क्षेत्रमा यात्रा गर्ने तथा कृषि कार्यमा संलग्न नागरिकलाई भने सम्भावित वर्षा, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह गरेका छन्।