धनगढी/जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मंगलबार (असार २ गते) का लागि जारी गरेको चेतावनी नक्साअनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही तराई जिल्लामा तातो लहरको प्रभाव रहने सम्भावना रहेको छ।
महाशाखाले सार्वजनिक गरेको ‘डे–१ वार्निङ म्याप’ अनुसार कैलाली, कञ्चनपुरसहित पश्चिम तराईका केही भूभागलाई पहेँलो संकेत (अद्यावधिक रहनुहोस्) मा राखिएको छ। यसले ती क्षेत्रमा अत्यधिक गर्मी र तातो हावाको प्रभाव कायम रहने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने जनाउँछ।
त्यस्तै, देशका अधिकांश पहाडी तथा हिमाली जिल्लामा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको देखाइएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लामा वर्षाको संकेत गरिएको छ भने उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि औँल्याइएको छ।

मौसमविद्का अनुसार मनसुनी प्रणाली क्रमशः सक्रिय बन्दै गइरहेका कारण पहाडी भूभागमा वर्षा हुने सम्भावना बढेको छ। यद्यपि पश्चिम तराईका केही क्षेत्रमा अझै गर्मीको प्रभाव कायम रहने देखिएको छ।
महाशाखाले तातो लहरको प्रभाव पर्ने क्षेत्रका सर्वसाधारणलाई दिउँसोको समयमा अनावश्यक रूपमा घाममा ननिस्कन, प्रशस्त पानी पिउन, हल्का तथा सुती कपडा लगाउन र बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूको विशेष हेरचाह गर्न आग्रह गरेको छ।
त्यसैगरी वर्षा र चट्याङको सम्भावना भएका क्षेत्रका बासिन्दालाई सतर्क रहन, सुरक्षित स्थानमा बस्न तथा आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।



