धनगढी/धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ।
उपमहानगरपालिकाले जारी गरेको सूचनाअनुसार असार ९ गतेदेखि १२ गतेसम्म विद्यालयहरूमा अध्ययन–अध्यापन कार्य स्थगित गरी बिदा व्यवस्थापन गर्न सम्बन्धित विद्यालयलाई निर्देशन दिइएको छ। उक्त बिदा पछि वर्षे तथा हिउँदे बिदाबाट मिलान गरिने जनाइएको छ।
पछिल्ला केही दिनयता तराई क्षेत्रमा तापक्रम लगातार बढ्दै गएको छ। धनगढीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा ‘हट डे’ तथा लुको अवस्था देखिन थालेपछि विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै बिदा दिने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिकाले शिक्षक, विद्यार्थी तथा अभिभावकलाई गर्मी र लुबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेको छ। चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कन, प्रशस्त मात्रामा पानी पिउन, हल्का तथा सुती कपडा लगाउन र स्वास्थ्यमा समस्या देखिए तत्काल स्वास्थ्यकर्मीको सल्लाह लिन अनुरोध गरिएको छ।



