कैलाली, २९ जेठ/कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीमा आएको आकस्मिक बाढीले दुई महिलालाई बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्की महिला बेपत्ता भएकी छिन्।
आज बिहान करिब ६ बजेर ४० मिनेटमा पहाडी क्षेत्रमा परेको अविरल वर्षापछि गोदावरी नदीमा आएको बाढीले दुई महिलालाई बगाएको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
खोजी तथा उद्धारका क्रममा गोदावरी नगरपालिका–४ निवासी जीवन धमलाकी श्रीमती ५५ वर्षीया महेश्वरी धमला खोलाको मसानघाट नजिक मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ।
त्यस्तै, सोही स्थान निवासी लक्ष्मण साउदकी श्रीमती ४० वर्षीया कल्पना साउद बाढीमा बेपत्ता भएकी छन्। उनको खोजी कार्य प्रहरी, स्थानीयवासी तथा उद्धारकर्मीहरूको सहयोगमा जारी रहेको छ।
प्रारम्भिक जानकारीअनुसार दुवै महिला आज बिहान करिब ६ बजे जंगलमा च्याउ टिप्न घरबाट निस्किएका थिए। सोही क्रममा आएको बाढीले उनीहरूलाई बगाएको हुन सक्ने अनुमान गरिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको तथा बेपत्ता महिलाको खोजीलाई तीव्रता दिएको जनाएको छ।



