कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिम प्रदेश प्रहरी देशकै उत्कृष्ट

भर्खरै

धनगढी, २२ जेठ/

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कार्यसम्पादन मूल्यांकनमा देशभरमै उत्कृष्ट बनेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले गरेको अर्धवार्षिक तथा ९ महिने कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिम प्रदेश प्रहरी पहिलो स्थान हासिल गर्न सफल भएको हो।
प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओम बहादुर रानाको नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश प्रहरीले उत्कृष्ट कार्यसम्पादन गर्दै देशभरका प्रदेश प्रहरी कार्यालयमध्ये प्रथम स्थान प्राप्त गरेको जनाइएको छ।
मूल्यांकन प्रतिवेदनअनुसार अर्धवार्षिक कार्य प्रगति मूल्यांकनमा सुदूरपश्चिम प्रदेश प्रहरीले ८०.२१ प्रतिशत अंक प्राप्त गर्दै उत्कृष्ट बनेको थियो। त्यसैगरी ९ महिने कार्यसम्पादन मूल्यांकनमा ८५.११ प्रतिशत नतिजासहित पुनः प्रथम स्थान हासिल गरेको छ।
अपराध नियन्त्रण, अनुसन्धान, सेवा प्रवाह, सामुदायिक–प्रहरी साझेदारी तथा समन्वयात्मक कार्यशैलीमा देखाएको प्रभावकारी भूमिकाका कारण सुदूरपश्चिम प्रदेश प्रहरीले यो सफलता हासिल गरेको बताइएको छ।
डीआईजी रानाले यसअघि पनि उत्कृष्ट कार्यसम्पादनका लागि सम्मान प्राप्त गरिसकेका छन्। सुदूरपश्चिम प्रदेशमा शान्तिपूर्ण र व्यवस्थित रूपमा निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाल प्रहरी नियमावलीअनुसार उनलाई नगदसहित पुरस्कृत गरिएको थियो। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले चैत २ गते उनलाई नगद पुरस्कारसहित सम्मान गरेका थिए।