धनगढी/नवजीवन सहकारी संस्था लिमिटेडको अध्यक्षमा गोपालराज पाठक विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनको मतगणनाअनुसार पाठकले निकटतम प्रतिद्वन्द्वी केशवराज मिश्रलाई ३१५ मतान्तरले पराजित गर्दै अध्यक्षमा जित हासिल गरेका हुन् ।
निर्वाचनमा पाठकले ४ हजार ७८४ मत प्राप्त गरे भने मिश्रले ४ हजार ४६९ मत पाए । अध्यक्षका अर्का उम्मेदवार घनबहादुर शाहले ३ हजार ६४४ मत प्राप्त गरेका छन् ।
निर्वाचनमा पाठक, मिश्र र शाह प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका थिए । परिणामअनुसार मिश्र प्यानल पूर्ण रूपमा पराजित भएको छ भने शाह प्यानलबाट एक जना सदस्य मात्र विजयी भएका छन् । अधिकांश पदमा भने पाठक प्यानलकै उम्मेदवारले जित हासिल गरेका छन् ।
उपाध्यक्ष पदमा पाठक प्यानलकै उम्मेदवार उत्तम जोशी ४ हजार ३०३ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी ईश्वरप्रसाद जोशीले ३ हजार ९०४ तथा उपेन्द्र विष्टले ३ हजार १९५ मत प्राप्त गरे । यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा गणेशप्रसाद जोशी ५ हजार १७२ मतसहित निर्वाचित भए । उनका प्रतिद्वन्द्वी चेतराज जोशीले ५ हजार ३३ मत प्राप्त गरेका थिए । सुपरिवेक्षण समितिको सदस्यमा खेमराज पाठकले ६ हजार ४३ र गणेशप्रसाद पाध्यायले ४ हजार ५५९ मत प्राप्त गर्दै विजयी भए । दुवै जना पाठक प्यानलकै उम्मेदवार हुन् ।

कार्यसमितिको सात सदस्य पदमध्ये चार पदमा पाठक प्यानलका उम्मेदवार विजयी भएका छन् भने दुई स्वतन्त्र उम्मेदवार र एक जना शाह प्यानलका उम्मेदवार निर्वाचित भएका छन् । सदस्य पदमा स्वतन्त्र उम्मेदवार केशवराज जोशी सर्वाधिक ५ हजार १४३ मतसहित विजयी भए ।
त्यस्तै, पाठक प्यानलकी कोपिला कुँवरले ४ हजार ११२, गणेश बमले ३ हजार ४२६, जयराज जोशीले ३ हजार २८० तथा लक्ष्मीराज पन्तले ३ हजार २७६ मत प्राप्त गर्दै सदस्यमा जित हासिल गरे । स्वतन्त्र उम्मेदवार खेमराज पाण्डेय ३ हजार १३२ मतसहित निर्वाचित हुँदा शाह प्यानलका दीर्घबहादुर शाह ३ हजार ११८ मतसहित विजयी भए ।
धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्था देशकै अग्रणी सहकारी संस्थामध्ये एक मानिन्छ । सहकारीमा कुल ४० हजार ८१४ शेयर सदस्य रहेका छन् । शनिबार सम्पन्न निर्वाचनमा १५ हजार २४१ मत खसेको निर्वाचन समितिले जनाएको छ ।




