प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको आरोप, कैलालीमा पत्रकारको धर्ना

भर्खरै

धनगढी, २७ जेठ/निजी सञ्चारमाध्यममाथि अंकुश लगाउने उद्देश्यले सरकारले विभेदकारी निर्णय गरेको आरोप लगाउँदै पत्रकारहरूले कैलालीमा धर्ना दिएका छन्। नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रमअन्तर्गत बुधबार जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि आयोजित धर्नामा पत्रकारहरूले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको सूचनाको अधिकारको पक्षमा ऐक्यबद्धता जनाएका हुन्।
धर्नाका क्रममा पत्रकारहरूले “निजी सञ्चारमाध्यममाथिको विभेदकारी निर्णय तुरुन्त खारेज गर”, “प्रेस स्वतन्त्रता हाम्रो अधिकार हो”, “लोकतन्त्रको आधार प्रेस स्वतन्त्रता” लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए। उनीहरूले सञ्चारमाध्यममाथिको हस्तक्षेप रोक्न, संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा नागरिकको सूचनाको अधिकारमाथि कुनै बन्देज नलगाउन सरकारसँग माग गरेका छन्। महासंघका केन्द्रीय सदस्य योगेन्द्र बलायरले प्रेस स्वतन्त्रताको संरक्षण र पत्रकारहरूको हकहितका लागि महासंघ एकजुट भएर संघर्ष गरिरहेको बताए। उनले सरकारको निर्णयविरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष भरत शाहले पत्रकारितामाथि भइरहेको हस्तक्षेप र दबाब स्वीकार्य नहुने बताए। उनले इतिहासका विभिन्न राजनीतिक कालखण्डमा समेत अहिलेको जस्तो हस्तक्षेप नभएको दाबी गरे।
नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष श्रवण देउवाले वर्तमान सरकार पत्रकार तथा मिडिया मैत्री नरहेको आरोप लगाउँदै सरकारी विज्ञापन रोक्नु सञ्चारमाध्यममाथिको आर्थिक नाकाबन्दीको प्रयास भएको बताए। निर्णय फिर्ता नभएसम्म आन्दोलनलाई निरन्तरता दिइने उनको चेतावनी थियो।
महासंघका अनुसार केन्द्रको परिपत्रअनुसार देशभरका जिल्ला प्रशासन कार्यालयमा एकैसाथ धर्ना कार्यक्रम आयोजना गरिएको हो। महासंघ कैलालीका सचिव तेज भट्टले आगामी जेठ २९ गते पनि अर्को चरणको धर्ना कार्यक्रम तय गरिएको जानकारी दिए।