सुदूरपश्चिममा कमजोर मनसुनको संकेत, कम वर्षा र बढ्दो गर्मीले कृषि क्षेत्रमा चुनौती

भर्खरै

धनगढी, २८ जेठ/यस वर्ष सुदूरपश्चिम प्रदेशमा सरदरभन्दा कम वर्षा र बढी गर्मी हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको अद्यावधिक मनसुन आँकलनले देखाएको छ। विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सुदूरपश्चिमका अधिकांश भूभागमा मनसुनी वर्षा सरदरभन्दा कम हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ।
विभागका अनुसार जुनदेखि सेप्टेम्बरसम्मको मनसुन अवधिमा देशभर नै वर्षा कम हुने संकेत देखिए पनि पश्चिम नेपाल विशेषगरी सुदूरपश्चिममा यसको प्रभाव बढी पर्न सक्ने अनुमान गरिएको छ। प्रदेशका मध्य तथा उत्तरी भूभागमा अधिकतम तापक्रम पनि सरदरभन्दा माथि रहने सम्भावना रहेको जनाइएको छ।
मनसुनी वर्षामा कमी आए धान रोपाइँ, बालीको वृद्धि र उत्पादनमा प्रत्यक्ष असर पर्न सक्ने विज्ञहरूले बताएका छन्। सुदूरपश्चिमका अधिकांश किसान वर्षामा आधारित खेती प्रणालीमा निर्भर रहेकाले पानीको अभावले कृषि उत्पादन प्रभावित हुने जोखिम देखिएको छ।
यद्यपि समग्र वर्षा कम हुने अनुमान गरिए पनि विपद्को जोखिम भने कायमै रहेको मौसमविद्हरूको भनाइ छ। छोटो अवधिमा अत्यधिक वर्षा हुँदा बाढी, पहिरो तथा डुबानजस्ता विपद् निम्तिन सक्ने भएकाले सतर्कता आवश्यक रहेको उनीहरूले बताएका छन्।
विज्ञहरूका अनुसार बढ्दो तापक्रमले गर्मीजन्य स्वास्थ्य समस्या, पानीको अभाव तथा ऊर्जा मागमा समेत वृद्धि गराउन सक्छ। जलवायु परिवर्तनका कारण मौसमको स्वरूप असन्तुलित बन्दै गएकाले स्थानीय तह, कृषि तथा विपद् व्यवस्थापन निकायहरूले समयमै तयारी गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।


सिँचाइ व्यवस्थापन, जल संरक्षण, वैकल्पिक बालीको प्रयोग तथा प्रारम्भिक चेतावनी प्रणालीलाई प्रभावकारी बनाउन सके मनसुनजन्य जोखिम न्यूनीकरणमा सहयोग पुग्ने विज्ञहरूको सुझाव छ। सुदूरपश्चिममा यस वर्षको मनसुन कमजोर रहने संकेतसँगै किसान, स्थानीय सरकार र सरोकारवाला निकायहरूलाई पूर्वतयारीमा जुट्न आग्रह गरिएको छ।