माइनट तयार, सपथको तयारी पूरा; ओलीको फोनले फेरियो निर्णय

भर्खरै

धनगढी, २५ जेठ/नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालयमा सोमबार मन्त्री हेरफेरको विषयलाई लिएर तनाव उत्पन्न भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली को निर्णय अन्तिम समयमा फेरिएपछि असन्तुष्ट कार्यकर्ताले संसदीय दलको कार्यालयमा पुगेर विरोध प्रदर्शन गरेका हुन्।
स्रोतका अनुसार आइतबार अध्यक्ष ओलीले प्रदेश सरकारमा रहेका बहालवाला मन्त्रीहरूलाई हटाएर नयाँ अनुहारलाई अवसर दिन निर्देशन दिएका थिए। सोहीअनुसार नयाँ मन्त्रीहरूको नाम टुंगो लगाई निर्णय प्रक्रिया अगाडि बढाइएको थियो। निर्णयको कम्प्युटर टाइप गरी माइनटमा टाँस्ने तयारी भइरहेका बेला अध्यक्ष ओलीले पुनः संसदीय दलका नेता राजेन्द्रसिंह रावल लाई फोन गरेर तत्काल मन्त्री हेरफेर नगर्न निर्देशन दिएको स्रोतले जनाएको छ।
पछिल्लो निर्देशनपछि असन्तुष्ट बनेका केही कार्यकर्ताले संसदीय दलको कार्यालय पुगेर विरोध जनाएका थिए। विरोधका क्रममा कार्यालयमा तोडफोड गर्ने प्रयास भए पनि प्रदेशसभा सदस्यहरूको सक्रियताले ठूलो क्षति हुनबाट जोगिएको बताइएको छ। यद्यपि संसदीय दलका नेता रावलको नामप्लेट भने तोडफोड गरिएको छ।
यसअघि अध्यक्ष ओलीले बहालवाला मन्त्रीहरू सुरेन्द्र पाल, वीरबहादुर थापा, हिरासिंह सार्की तथा राज्यमन्त्री निर्मला देवी साउदलाई फिर्ता बोलाएर उनीहरूको स्थानमा सन्तोष शर्मा थापा, दमन भण्डारी र चक्र मल्ललाई मन्त्री तथा जानकी ऐर बमलाई राज्यमन्त्री नियुक्त गर्न निर्देशन दिएका थिए। उनीहरूको सपथग्रहणको तयारीसमेत गरिएको थियो।
तर, अन्तिम समयमा निर्णय परिवर्तन भएपछि मन्त्री हेरफेर प्रक्रिया रोकिएको छ। यता सत्तारुढ गठबन्धनको अर्को घटक नेपाली कांग्रेसले भने आफ्ना पुराना मन्त्रीलाई हटाएर नयाँ मन्त्रीहरूको सपथग्रहण प्रक्रिया अगाडि बढाएको जनाएको छ। मन्त्री हेरफेरबारे एमालेको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी रहेको छ।