धनगढी, २७ जेठ/बाजुरा र हुम्लाका स्थानीयबीच रानीसैन क्षेत्रलाई लिएर उत्पन्न विवाद तथा झडपपछि सरकारले बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरेको छ।
बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला का अनुसार सदरमुकाम मार्तडीबाट बुधबार संयुक्त सुरक्षा टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ। सुरक्षा बेस स्थापनाका लागि सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक जनक पौडेल को नेतृत्वमा २१ जना र प्रहरी सहायक निरीक्षक मिठ्ठुबहादुर बोहरा को कमान्डमा ७ जना गरी २८ जनाको टोली परिचालन गरिएको छ।
प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार उक्त टोलीले आगामी तीन महिनासम्म रानीसैन क्षेत्रमा नियमित सुरक्षा गस्ती सञ्चालन गर्नेछ। लाम्पाटा र रानीसैन क्षेत्रमा पछिल्ला दिनमा भएका कुटपिट, आगजनी तथा दुर्व्यवहारका घटनापछि सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै सरकारको निर्णयअनुसार सुरक्षा बेस स्थापना गरिएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख शैलेश्वरी बोहरा ले रानीसैन क्षेत्रको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै लाम्पाटामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको बताइन्। उनका अनुसार संयुक्त सुरक्षा टोलीले क्षेत्रको शान्ति सुरक्षा कायम गर्न निरन्तर निगरानी गर्नेछ।
गत जेठ ५ गते रानीसैन क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि पुगेको टोलीमाथि आक्रमण भएको थियो। उक्त घटनामा गोपाल हमाल सहितको टोलीमाथि दुर्व्यवहार भएको थियो। घटनामा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा सदस्य पेमागारा गुरुङ तथा केही स्थानीय र सुरक्षाकर्मी घाइते भएका थिए।
यसअघि जेठ ३ गते पनि हुम्लाबाट आएका केही व्यक्तिले लाम्पाटा क्षेत्रमा पुगेर स्थानीयमाथि कुटपिट तथा बन्धक बनाएको आरोप लगाइएको थियो। पछिल्लो समय रानीसैन क्षेत्रको स्वामित्व तथा सीमासम्बन्धी विवाद थप जटिल बन्दै गएको स्थानीयको भनाइ छ।
रानीसैन संघर्ष समितिले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा क्षेत्रको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्न माग गर्दै आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएको छ।



