धनगढी, २७ जेठ/माछापुच्छ्रे बैंक लिमिटेडले कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ झिलमिलास्थित बैजनाथ माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्री सहयोग गरेको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत विद्यालयलाई खेलकुद सामग्री, फर्निचर तथा प्राविधिक प्रयोगशालाका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको हो। विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई थप प्रभावकारी, गुणस्तरीय र व्यवहारिक बनाउन सहयोग प्रदान गरिएको बैंकले जनाएको छ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख विष्णु लामिछानेले शिक्षामा गरिएको लगानीले समाजको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

त्यसैगरी माछापुच्छ्रे बैंक धनगढी शाखाका शाखा प्रबन्धक शिवराज पाठकले ग्रामीण क्षेत्रका विद्यालयमा शैक्षिक पूर्वाधार तथा सिकाइ सामग्रीको अभावलाई मध्यनजर गर्दै सहयोग गरिएको बताउनुभयो। प्राप्त सामग्रीले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न तथा विद्यार्थीहरूको अध्ययन, सिर्जनशीलता र सीप विकासमा सकारात्मक योगदान पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी, स्थानीय जनप्रतिनिधि तथा बैंकका कर्मचारीहरूको सहभागिता रहेको थियो। विद्यालय प्रशासनले बैंकप्रति आभार व्यक्त गर्दै प्राप्त सामग्रीले पठनपाठन तथा अतिरिक्त क्रियाकलाप सञ्चालनमा महत्वपूर्ण सहयोग पुग्ने जनाएको छ।
माछापुच्छ्रे बैंकले विगतदेखि नै देशभर शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।



