सुदूरपश्चिममा मेघगर्जनसहित वर्षाको सम्भावना

भर्खरै

धनगढी, २८ जेठ/पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको प्रभावका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बिहीबार पनि वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थान र तराईका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाएको छ।
विभागका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ। सुदूरपश्चिमसहित कर्णाली, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने केही उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।
बुधबार देशका अधिकांश स्थानमा हल्का वर्षा भएको थियो। मौसम प्रणालीको प्रभाव अझै कायम रहेकाले सुदूरपश्चिमका पहाडी तथा तराई जिल्लामा वर्षासँगै चट्याङको जोखिम रहने विभागले जनाएको छ।


मौसमविद्ले वर्षा र चट्याङका कारण दैनिक जनजीवन, कृषि कार्य तथा सडक यातायातमा सामान्य प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। विशेषगरी नदी तथा खोलानाला आसपासका बासिन्दालाई सावधानी अपनाउन सुझाव दिइएको छ।