धनगढी/बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा भएको बस दुर्घटनामा घाइते हुने यात्रुहरूको परिचय खुलेको छ । दुर्घटनामा सुदूरपश्चिमका विभिन्न जिल्लाका यात्रु घाइते भएका छन् भने अधिकांशको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा डडेल्धुराको भागेश्वर गाउँपालिका–४ की ३० वर्षीया उर्मिला भट्ट दुवै हात र खुट्टामा चोट लागेर मध्यम अवस्थामा रहेकी छन् । सोही ठाउँकी ३६ वर्षीया निलम भट्टको अनुहारमा चोट लागेको छ ।
बझाङको केदारस्युँ गाउँपालिका–५ का ३२ वर्षीय भक्तबहादुर धामीको दाहिने हात र खुट्टामा चोट लागेको छ भने कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालकी २५ वर्षीया रमिता बिष्टको कम्मरमा चोट लागेको छ । उनको स्थानीय आरम्भ क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कैलाली घोडाघोडी नगरपालिका–३ की २२ वर्षीया लक्ष्मी बोहरा सामान्य घाइते भएकी छन् । यस्तै, लम्कीचुहा नगरपालिका–१ का १९ वर्षीय जीवन रावल, डडेल्धुराको अमरगढी नगरपालिका–९ का ३२ वर्षीय चेतराज जोशी, धनगढी उपमहानगरपालिका–३ का ३० वर्षीय नरेन्द्र नाथ, टीकापुर नगरपालिका–१ का २२ वर्षीय विशाल मगर, बझाङ मष्टा गाउँपालिका–४ का १८ वर्षीय राजेश जोशी, अछामका युवराज दास र दिनेश धामी सामान्य घाइते भएका छन् ।
अछाम रामारोशन गाउँपालिका–३ की १९ वर्षीया लक्ष्मी खत्री दुवै खुट्टामा चोट लागेर मध्यम अवस्थामा रहेको प्रहरीले जनाएको छ । बैतडी मेलौली नगरपालिका–१ का २६ वर्षीय अनिलसिंह नायक पनि दुर्घटनामा घाइते भएका छन् ।
दुर्घटनामा बस चालक डडेल्धुराको अजयमेरु गाउँपालिका–३ का २३ वर्षीय सन्तोष मल्ल पनि घाइते भएका छन् । उनको दुवै खुट्टा र हातका औंलासहित गर्धनमा चोट लागेको छ ।
यस्तै, बर्दियाको ठाकुरबाबा नगरपालिका–९ की अमृता खड्का, रिता खत्री, देवी खड्कालगायत बाजुरा, कैलाली र कञ्चनपुरका यात्रु पनि घाइते भएका छन् । उनीहरूमध्ये अधिकांशको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।



