दुई लाख राष्ट्रिय परिचयपत्र जलेर नष्ट

भर्खरै

धनगढी, ५ असोज/कैलालीमा दुई लाख राष्ट्रिय परिचयपत्र जलेर नष्ट भएको छ । जेनजी आन्दोलनको क्रममा कार्यालयमा आगजनी गरिएपछि राष्ट्रिय परिचयपत्र जलेर नष्ट भएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार फिल्डको एक लाख ६० हजार र जिल्ला प्रशासन कार्यालयमा रहेको ४० हजार राष्ट्रिय परिचयपत्रलाई आन्दोलनकारीले जलाएका छन् ।
छापिएका राष्ट्रिय परिचयपत्रहरू विभिन्न पालिकाको वडाबाट पनि वितरणको कार्य चलिरहेको थियो । जलेर नष्ट भएका परिचयपत्रहरू सरकारले पुनः छापेर पठाउने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयमा रहेको पुरानो भवनबाट राष्ट्रिय परिचयपत्रको काम हुँदै आएको थियो । राणाकालमा बनेको सो भवन आगजनीबाट नष्ट भएको छ । भवन नष्ट भएपछि राष्ट्रिय परिचयपत्रसहित त्यससँग सम्बन्धित कागजात, उपकरण जलेर नष्ट भएको जोशीले जानकारी दिनुभयो ।