धनगढी, ३ असोज/जेनजी प्रदर्शनको क्रममा ठूलो संख्यामा प्रहरीका हतियार लुटपाट भएको भेटिएको छ । प्रदर्शन नियन्त्रण बाहिर गएपछि उच्छृखल समूहले भदौ २४ मा देशभरबाट हतियार लुटपाट गरेका हुन् ।
प्रहरी प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा समिति बनाएर लुटिएका हतियारहरूको तथ्याङ्क संकलन गरिरहेको छ । हतियारको विवरण संकलन गर्ने समितिको नेतृत्व अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दीपक रेग्मीले गरेका छन् ।
काठमाडौँ उपत्यका र उपत्यका बाहिरका युनिटबाट लुटपाट र आगजनीका कारण करिब ११ सय थान हतियार हराएको आईजीपीले गृहमन्त्रीलाई रिपोर्टिङ गरेका छन् । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार प्रहरीका युनिट इन्चार्जहरूलाई निर्देशन दिने क्रममा ११ सय थान हतियार हराएको उल्लेख गरे ।
प्रदर्शनमा एसएलआर, पेस्तोल, ग्याँस गन, थ्रीनटथ्री राइफल, एसएमजी, हर्नेट र ट्वान्टीटु म्याग्नम लगायतका हतियार लुटिएको प्रहरी अधिकृतहरू बताउँछन् । जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहतका वृत्तहरूबाट पनि ठुलो संख्यामा हतियार लुटिएको छ ।
हराएका हतियारको विवरण तयार गर्ने काम भइरहेको प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले बताए । उनले भने, ‘समिति गठन गरेर हराएका हतियारको विवरण संकलन गर्दै छौँ ।’
लुटिएका मध्ये १६० थान हतियार भेटिएको छ । प्रहरीका युनिटहरू आगजनी हुँदा केही हतियार जलेको अवस्थामा पनि फेला परेका छन् । सशस्त्र प्रहरी बल र प्रहरीबाट लुटिएको हतियार सेनाले पनि बरामद गरेर बुझाएको छ । अहिलेसम्म देशभरबाट २६८ नाल हतियार बरामद गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।



