जनकपुरधाम/धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक ११ दिनपछि सकुशल उद्धार भएका छन्। बालक अपहरण गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार कमलेश महतोका छोरा सिधान्त महतो भदौ १८ गते अपराह्न करिब ४ः४० बजे घरको आँगनमा खेलिरहेको अवस्थामा हराएका थिए।
बालकको खोजीका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी उपरीक्षक रुपेश खड्काको कमान्डमा ६० जनाको टोली परिचालन गरेको थियो। तालिमप्राप्त कुकुरको समेत प्रयोग गरी घटनास्थल तथा आसपासका क्षेत्रमा खोजी गरिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा बालकलाई कमला नगरपालिका–९ हथलेट्वाकी करिब ४१ वर्षीया पुनिता देवी पासवानले अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार उनले बालकलाई स्थान परिवर्तन गर्दै नेपाल र भारतका विभिन्न ठाउँमा लुकाएर राखेकी थिइन्।
प्रहरीले धनुषाका विभिन्न नाकामा २४ घण्टा निगरानी बढाउनुका साथै प्राविधिक अनुसन्धानमार्फत खोजी तीव्र पारेको थियो। प्रहरीको घेराबन्दीपछि भदौ २९ गते दिउँसो करिब ३ः३५ बजे पासवानले बालकलाई घरदेखि करिब ३०० मिटर दक्षिण सडकछेउमा छाडेर भागेकी थिइन्।
प्रहरीले तत्काल बालकको उद्धार गरी स्वास्थ्य परीक्षणपछि अभिभावकको जिम्मा लगाएको छ। बालकको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
बालकलाई छाडेर भागेकी पासवानलाई पनि सोही दिन साँझ भारततर्फ भाग्दै गरेको अवस्थामा विदेह नगरपालिका–१ महिनाथपुरस्थित दशगजा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



