धनगढी/विघ्नहर्ता तथा अग्रपूजाका देवता भगवान् गणेशको जन्मोत्सव आज देशभर श्रद्धापूर्वक मनाइँदैछ। भाद्र शुक्ल चतुर्थीका अवसरमा राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा रहेका गणेश मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।
शास्त्रीय मान्यताअनुसार सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको हो। यस अवसरमा काठमाडौं उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक र कमलादी गणेशलगायत मन्दिरमा विशेष पूजा तथा आराधना भइरहेको छ।
शिव–पार्वतीका पुत्र गणेशलाई धार्मिक कर्ममा सबैभन्दा पहिले पूजा गर्ने अर्थात् अग्रपूजाको अधिकार प्राप्त देवताका रूपमा मानिन्छ। गणेशको पूजा गर्नाले विघ्न बाधा हट्ने र सुख–शान्ति प्राप्त हुने धार्मिक विश्वास छ।
धर्मशास्त्रविद् प्रा। डा। देवमणि भट्टराईका अनुसार हरितालिका तीजको व्रत पारायणपछि चतुर्थीका दिन गणेशको व्रत तथा पूजा गर्ने शास्त्रीय परम्परा छ। भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा पारिवारिक सुख–शान्तिको कामना गर्दै व्रत बसेकाहरूले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भन्ने कामनासहित गणेशको पूजा गर्ने विधान रहेको उहाँले बताउनुभयो।
मंगलबार परेको यस वर्षको गणेश चतुर्थीलाई थप विशेष मानिएको छ। मंगलबार परेको चतुर्थीलाई ‘मंगल चतुर्थी’ समेत भनिन्छ।
नेवार समुदायले आजको दिनलाई ‘चथा पर्व’का रूपमा समेत मनाउँदैछन्। चथा पर्वका अवसरमा बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने परम्परा रहेको छ।



