धनगढी, २९ भदौ/हिन्दुको महान् चाड हरितालिका तिज आइतबार दर खाएर सुरु भएको छ । महिला दिदीबहिनीले आइतबार दर खाने र सोमबार दिनभर व्रत बसेर आआफ्नो श्रीमान् तथा घरपरिवारको सुख समृद्धिको कामना गर्दछन् ।
तिजको दिन निराहार व्रत बस्ने भएकाले त्यसका लागि शक्ति प्राप्त गर्न अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने गरिन्छ । माइतीले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा छ ।
परम्परागत रूपमा तिजको दर माइतीघरमा मात्र खाने गरिन्छ । केही वर्षदेखि भने राजधानी तथा अन्य क्षेत्रमा एक महिनाअघिदेखि नै दर खाने प्रचलन चलेको छ तर यस वर्ष भोटेकोशीको बाढीपछि तिजको रौनकमा कमी देखिएको छ । पोषणविद् डा। अरुणा उपे्रतीका अनुसार तिजको दर खाँदा स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने तत्व, अखाद्य वस्तु, रङ हालेका मिठाई तथा विषादी हालेका तरकारी र फलफूल खानु हुन्न । सजाएर राखिएका मिठाई तथा फलफूलभन्दा घरमै बनाइएका ताजा परिकार खाएर तिज मनाउन उहाँको सुझाव छ ।
तिज पर्वमा विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको ज्योतिष विशाल गौतमले जानकारी दिनुभयो ।
महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत तिजलाई उपयोग गर्ने गरेका छन् । तिजको अवसरमा गीतका माध्यमबाट दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् । ज्योतिष गौतमका अनुसार दर खाएपछि औपचारिक रूपमा सुरु हुने तिज पर्व ऋषिपञ्चमीसम्म मनाइन्छ । उहाँले तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तिज समापन हुने जानकारी दिनुभयो ।
परापूर्वकालमा देवी पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउन निराहार प्रत बसेको र उहाँको कामना पूरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहितले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै व्रत बस्ने चलन रहेको छ । हरितालिका तिज पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाले शिवको पूजा तथा दर्शन गर्ने गर्दछन् ।



