धनगढी/कैलालीमा प्रदेश सरकारको मापदण्डअनुसार दर्ता भएका स्तरीय होटल अब राति १२ बजेसम्म सञ्चालन गर्न पाउने भएका छन्।
यसअघि राति १० बजेसम्म मात्रै होटल तथा व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था रहेकामा होटल व्यवसायी संघ कैलाली, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबीच भएको छलफलपछि स्तरीय होटलका लागि समयसीमा दुई घण्टा थप गरिएको हो।
नयाँ व्यवस्थाअनुसार प्रदेश सरकारको मापदण्डअनुसार स्तरीय होटलका रूपमा दर्ता भएका होटलले मात्रै राति १२ बजेसम्म ग्राहकलाई सेवा दिन पाउनेछन्। अन्य होटल तथा व्यापार व्यवसायका लागि भने राति १० बजेसम्मकै समयसीमा कायम रहनेछ।
होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेयका अनुसार प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कैलालीका करिब एक सय होटल स्तरीय होटलका रूपमा दर्ता छन्।

व्यवसायीका अनुसार राति अबेर धनगढी पुग्ने हवाई यात्रु, लामो दूरीका यात्रु तथा बाह्य पर्यटकलाई खाना र आवासको सेवा लिन यस निर्णयले सहज हुनेछ। यसबाट धनगढीमा पर्यटकको बसाइ लम्ब्याउन र होटल तथा पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
सम्झौतापत्रमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख नरेन्द्र चन्द र होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेयले हस्ताक्षर गरेका छन्।
प्रशासनले भने राति होटल सञ्चालनको समय बढाइए पनि सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राख्न होटल सञ्चालकलाई आग्रह गरेको छ। ग्राहकको विवरण, होटल परिसरको निगरानी तथा समग्र सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन प्रशासनले आग्रह गरेको हो। स्तरीय होटललाई राति १२ बजेसम्म सञ्चालन गर्न दिने निर्णयसँगै धनगढीमा रात्रिकालीन बजारलाई निश्चित मापदण्ड र सुरक्षा व्यवस्थासहित थप समय सञ्चालन गर्नुपर्ने बहससमेत पुनः सुरु भएको छ।



