धनगढी/सार्वजनिक बिदाका दिन अनुमति नलिई सरकारी गाडी चलाएको भन्दै सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवरले चढ्ने सरकारी गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ।
राज्यमन्त्री कुँवरले प्रयोग गर्ने सुप प्र ०१-००१ झ ०३९७ नम्बरको गाडी सार्वजनिक बिदाका दिन मन्त्रीसमेत सवार नभएको अवस्थामा चालकले चलाएको भेटिएपछि ट्राफिक प्रहरीले कारबाही गरेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यले गाडीलाई निषेधित समयमा प्रयोग गरेको कसुरमा पहिलो पटक ५ सय रुपैयाँ जरिवाना तिराइएको पुष्टि गरे।
सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने व्यवस्था रहे पनि अनुमति नलिई गाडी चलाइएको ट्राफिक प्रहरीले जनाएको छ।



