जेनजी शहीदहरूको सम्झनामा आज देशभर सार्वजनिक बिदा

भर्खरै

धनगढी, २३ भदौ/जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। १८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन भएको दिन २३ भदौलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ। सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएको आन्दोलन क्रमशः राज्य सञ्चालनको शैली, राजनीतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा तथा अवसरको असमानताविरुद्धको आवाजमा परिणत भएको थियो।
गत वर्ष २३ भदौमा संघीय राजधानी काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो। त्यसको विरोधमा २४ भदौमा देशभर प्रदर्शन भएको थियो।
दुई दिनसम्म चलेको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसहित ७६ जनाको मृत्यु भएको थियो। आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा समेत आगजनी र तोडफोड भएको थियो।