सुदूरपश्चिममा मनसुन सक्रिय, तराईका केही स्थानमा धेरै भारी वर्षा हुने सम्भावना

भर्खरै

धनगढी, २३ भदौ/सुदूरपश्चिम प्रदेशमा आज मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ, नेपालको पश्चिमी भूभाग नजिक रहेको छ। साथै, उत्तर प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
आज सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। प्रदेशको तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा समेत हुनसक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले भारी तथा धेरै भारी वर्षाका कारण नदी तथा खोलामा जलसतह बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो तथा भू–क्षय हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।