धनगढी, २९ भदौ/विश्वप्रसिद्ध प्रिमियम मोटरसाइकल ब्रान्ड ट्रायम्फले सुदूरपश्चिममा आफ्नो सेवा विस्तार गर्दै धनगढीमा आधिकारिक शोरुम सञ्चालनमा ल्याएको छ।
धनगढी उपमहानगरपालिका–३, चटकपुरमा दीपेश अटो हब प्राइभेट लिमिटेड ट्रायम्फको आधिकारिक बिक्रेताका रूपमा सञ्चालनमा आएको हो। शोरुमको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर राज ओझाले विशेष कार्यक्रमका बिच उद्घाटन गर्नुभयो ।
नयाँ शोरुमबाट ट्रायम्फका विभिन्न मोडलका मोटरसाइकल खरिद गर्न सकिनेछ भने आधिकारिक सर्भिसिङ, मर्मतसम्भार र कम्पनीका सक्कली पार्टपुर्जासमेत उपलब्ध हुने जनाइएको छ।
शोरुमलाई बिक्री, सेवा र पार्टपुर्जासहितको पूर्ण सुविधासम्पन्न केन्द्रका रूपमा सञ्चालन गरिएको छ। यससँगै सुदूरपश्चिमका ग्राहकले ट्रायम्फका मोटरसाइकल खरिद तथा बिक्रीपछिको आधिकारिक सेवा स्थानीय स्तरमै पाउने भएका छन्।
दीपेश अटो हबका सञ्चालक दीपेश ओझाले सुदूरपश्चिममा ट्रायम्फजस्तो प्रिमियम ब्रान्डको आधिकारिक सेवा सुरु गर्न पाउनु महत्वपूर्ण अवसर भएको बताए। ग्राहकलाई गुणस्तरीय सेवा र उत्कृष्ट सवारी अनुभव प्रदान गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए।

ट्रायम्फ नेपालका व्यवस्थापक सागर थापाले ट्रायम्फ गुणस्तर, विश्वसनीयता र प्रिमियम सवारी अनुभवका लागि परिचित रहेको बताए। धनगढीमा आधिकारिक शोरुम सञ्चालनमा आएसँगै सुदूरपश्चिमका ग्राहकसँगको सम्बन्ध थप बलियो हुने उनको भनाइ छ।
यसअघि ट्रायम्फका मोटरसाइकल खरिद तथा आधिकारिक सेवा लिन सुदूरपश्चिमका ग्राहक अन्य शहरमा निर्भर हुनुपर्ने अवस्था थियो। अब भने खरिददेखि बिक्रीपछिको सेवासम्म धनगढीमै उपलब्ध हुने भएको छ।



