सेतो कोटको सपना अधुरै रह्यो, तर हजारौँ बिरामीको उपचारको आधार बने जनकराज जोशी

भर्खरै

धनगढी, २१ भदौ/बाल्यकालमा विद्यालयका गुरुहरूले सोध्थे, ‘ठूलो भएपछि के बन्छौ ?’ जनकराज जोशीको जवाफ प्रायः एउटै हुन्थ्यो, ‘डाक्टर बन्छु।’ त्यो केवल बालसुलभ कल्पना थिएन। मानिसको दुःख देख्दा मन छुने र बिरामीलाई निको पार्न सके हुन्थ्यो भन्ने भावना उनको मनमा सानैदेखि थियो। तर, जीवनले उनको सपना सोचेजस्तो बाटोमा लगेन्। जोशी डाक्टर बन्न सकेनन्। तर, उनले आफ्नो अधुरो सपनालाई त्यहीँ रोकिएर बस्न दिएनन्। बरु, त्यसलाई नयाँ स्वरूप दिए। आफैँले सेतो कोट लगाउन नसके पनि अरूले सेतो कोट लगाएर बिरामीको सेवा गर्न सक्ने एउटा संस्था निर्माण गर्ने बाटो रोजे। त्यही यात्राको परिणाम हो, कैलाली अस्पताल प्रा.लि. ।
बाल्यकालमै पलाएको थियो डाक्टर बन्ने सपना
धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा कक्षा ४ पढ्न थालेपछि जोशीले आफ्नो भविष्यबारे सोच्न थालेका थिए। शिक्षकहरूले भविष्यको लक्ष्य सोध्दा उनको उत्तर हुन्थ्यो, ‘डाक्टर ।’ बाल्यकालको एउटा घटना उनको स्मृतिमा अझै ताजा छ । एक जना साथीलाई छालासम्बन्धी समस्या देखिएपछि उनकी आमाले तयार पारेको जडीबुटीको झोल र साबुन दिएर सहयोग गरेका थिए । साथी निको भएपछि अरूलाई पनि उपचारमार्फत सहयोग गर्न सकिन्छ भन्ने भावना उनको मनमा अझ गहिरो भयो । सायद त्यही घटनाले डाक्टर बन्ने उनको चाहनालाई थप बलियो बनायो। तर, आर्थिक अवस्था र परिस्थितिले उनलाई मेडिकल शिक्षातर्फ लैजान सकेन । सपना बदलियो, तर मानिसको दुःख बुझ्ने र स्वास्थ्य क्षेत्रमा केही गर्ने चाहना भने बदलिएको थिएन।
व्यवस्थापन पढे, स्वास्थ्य क्षेत्रमा प्रवेश गरे
डाक्टर बन्ने सपना बोकेका जोशी अन्ततः व्यवस्थापन शिक्षातर्फ लागे । उनले कैलाली बहुमुखी क्याम्पसबाट सन् १९८७ अर्थात् वि.सं. २०४४ सालतिर स्नातक तह पूरा गरे। त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन गरे। उनको जीवनले त्यसपछि स्वास्थ्य क्षेत्रसँग नयाँ सम्बन्ध जोड्यो ।
नेपाल परिवार नियोजन संघमा आबद्ध भएर उनले स्वास्थ्य क्षेत्रमा काम गर्ने अवसर पाए । लेखा अधिकृतका रूपमा प्रवेश गरेका उनी क्रमशः व्यवस्थापकीय जिम्मेवारीमा पुगे । करिब १६ वर्ष परिवार नियोजन संघमा काम गर्दा उनी क्षेत्रीय तालिम प्रमुखको जिम्मेवारीसम्म पुगे ।
डाक्टर बन्न नसकेको सपना मनको कुनै कुनामा जीवितै थियो । तर, स्वास्थ्य क्षेत्रमा काम गर्ने अवसरले उनलाई आफ्नो पुरानो सपनालाई अर्कै बाटोबाट अघि बढाउने आधार दियो। ‘डाक्टर बन्न सकिनँ भने अस्पताल किन नबनाउने ?’ स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेपछि उनको मनमा एउटा प्रश्न उठ्यो, ‘आफू डाक्टर बन्न सकिनँ भने के भयो, किन यस्तो स्वास्थ्य संस्था नबनाउने जहाँ मानिसले गुणस्तरीय उपचार पाउन सकून् ?’ यही प्रश्नले उनको जीवनको अर्को अध्याय सुरु गर्‍यो ।
वि.सं. २०६८ सालतिर मेडिकलसम्बन्धी व्यवसाय सुरु गरेका जोशीले आफ्नै जायजेथा र स्रोत जुटाउँदै करिब ४० लाख रुपैयाँको लगानीमा वि.सं. २०७० सालतिर १५ शय्याको कैलाली अस्पताल प्रालि स्थापना गरे। सुरुवातमा अस्पतालमा एक मेडिकल अफिसर र एक विशेषज्ञ चिकित्सक थिए । सानो संरचना, सीमित जनशक्ति र ठूलो सपना । तर, चुनौती पनि कम थिएनन्।
विश्वास जित्नु सबैभन्दा ठूलो चुनौती
त्यतिबेला धनगढीमा नयाँ निजी स्वास्थ्य संस्था सञ्चालन गर्नु सहज थिएन। विशेषज्ञ चिकित्सकको अभाव थियो। दक्ष जनशक्ति जुटाउन कठिन थियो। सीमापार भारतका स्वास्थ्य संस्थासँग प्रतिस्पर्धा थियो। नयाँ निजी अस्पतालप्रति बिरामीको विश्वास निर्माण गर्नु अर्को चुनौती थियो। तर, जोशी रोकिएनन्। सरकारी सेवामा रहेका चिकित्सकलाई पार्टटाइम सेवाका लागि अनुरोध गरे । आवश्यकताअनुसार काठमाडौंलगायतका ठाउँबाट विशेषज्ञ चिकित्सक ल्याए । बिस्तारै अस्पतालले बिरामीको विश्वास जित्दै गयो। १५ शय्याबाट सुरु भएको अस्पताल विस्तार हुँदै गयो । सेवा थपिँदै गए । जनशक्ति बढ्दै गयो । आज अस्पतालमा विभिन्न विशेषज्ञ सेवा सञ्चालनमा छन्। र्थोपेडिक, ल्याप्रोस्कोपी, युरोलोजी, न्युरोसर्जरी, स्त्री तथा प्रसूति, बालरोग, नाक–कान–घाँटी, रेडियोलोजी, अंकोलोजी, मुटु तथा फोक्सोलगायतका सेवा उपलब्ध छन्। अस्पतालमा १६ जना विशेषज्ञ चिकित्सकसहित १३२ जनाभन्दा बढी जनशक्ति कार्यरत रहेका छन् ।

४० लाखको लगानीदेखि सय शय्याको लक्ष्यसम्म
कुनै समय करिब ४० लाख रुपैयाँको लगानीमा सुरु भएको अस्पताल आज दशौँ करोड रुपैयाँको लगानीको चरणमा पुगेको छ ।
वि.सं. २०८३ जेठसम्म अस्पताल २५ शय्याको क्षमतामा सञ्चालनमा रहेको र चाँडै सय शय्यामा विस्तार गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । सामाजिक सुरक्षा कोषसँग सम्झौता गरेर योगदानकर्तालाई स्वास्थ्य सेवा उपलब्ध गराउने कामसमेत अघि बढाइएको छ । तर, जोशीका लागि यो केवल आर्थिक विस्तारको कथा होइन । यो उनको बाल्यकालको एउटा अधुरो सपनाको विस्तार पनि हो ।
बिरामीको विश्वासलाई ‘सबैभन्दा ठूलो कमाइ’ मान्छन्‌
कैलाली अस्पतालको यात्रामा केही बिरामीका घटनाले जोशीलाई अझै भावुक बनाउँछ । गोहीको आक्रमणबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारमा अस्पतालको टोलीले गरेको प्रयास उनी सम्झन्छन्। उपचारपछि ती महिलाले अस्पताललाई आफ्नै परिवारजस्तै सम्झिएको घटना उनका लागि भावनात्मक बनेको छ।
त्यस्तै, अन्यत्र उपचार सम्भव छैन भनेर पठाइएको गम्भीर करेन्ट लागेका बिरामीको उपचारमा अस्पतालको टोलीले गरेको प्रयास पनि उनी स्मरण गर्छन्। यस्ता घटनाले उनलाई एउटा कुरा सिकाएको छ, अस्पतालको वास्तविक कमाइ पैसा मात्र होइन, बिरामीले दिएको विश्वास पनि हो ।
त्यसैले अस्पतालमा बिरामीसँग आत्मीय व्यवहार, आर्थिक अवस्था कमजोर भएकालाई सहुलियत र कठिन अवस्थामा रहेका बिरामीलाई सकेसम्म सेवा दिने प्रयास हुनुपर्ने उनको धारणा छ ।
व्यवसायसँगै सामाजिक जिम्मेवारी
कैलाली अस्पतालले व्यावसायिक स्वास्थ्य सेवासँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएको छ । स्वास्थ्य शिविर, रक्तदान, उपचारमा छुट तथा स्वास्थ्य सचेतनालगायतका कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
एउटा स्वास्थ्य शिविरमा ४४७ जनाले सेवा लिएको र आवश्यक बिरामीलाई निःशुल्क ओपीडी तथा औषधि र अपरेसनमा समेत छुट दिने व्यवस्था गरिएको अस्पतालको सार्वजनिक विवरणमा उल्लेख छ । प्राकृतिक विपत्तिका बेला निजी क्षेत्रले पनि सामाजिक दायित्व निर्वाह गर्नुपर्ने जोशीको धारणा छ ।
हालै रसुवामा आएको बाढीपछि कैलालीका निजी अस्पतालहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरेको सहयोगबारे बोल्दै उनले विपत्तिको पीडामा मलम लगाउन निजी क्षेत्र जिम्मेवार भएर अघि बढ्नुपर्ने बताएका थिए ।

स्वास्थ्य क्षेत्रको नेतृत्वमा पनि सक्रिय
जोशीको भूमिका कैलाली अस्पतालमा मात्र सीमित छैन। उनी नेपाल निजी अस्पताल संघ (अफिन) सुदूरपश्चिमका संस्थापक प्रदेश अध्यक्ष रहिसकेका छन् भने हाल केन्द्रीय सदस्यको भूमिकामा छन्।
औषधि व्यवसायी संघ कैलालीका संस्थापक/प्रथम अध्यक्षका रूपमा समेत काम गरिसकेका उनी हाल औषधि व्यवसायी संघ सुदूरपश्चिमका वरिष्ठ उपाध्यक्ष रहेको उल्लेख छ ।
वि.सं. २०८३ असारमा उनी नेपाल परिवार नियोजन संघ कैलाली शाखाको अध्यक्षमा निर्वाचित भएका छन्। स्वास्थ्य क्षेत्रमा वि.सं. २०४५ सालदेखि निरन्तर क्रियाशील रहेको बताउँदै उनले आगामी कार्यकालमा प्रजनन स्वास्थ्य, यौन तथा प्रजनन अधिकार, किशोर–किशोरीमैत्री सेवा र स्वास्थ्य सचेतनाका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
यसरी हेर्दा, जुन संस्थाबाट उनको स्वास्थ्य क्षेत्रको यात्रा सुरु भएको थियो, त्यही परिवार नियोजन संघको नेतृत्वमा पुनः फर्किनु उनको यात्राको रोचक संयोगसमेत बनेको छ।
आफ्नो सपना पूरा गर्न सकेनन्, सन्तानलाई डाक्टर बनाए
जनकराज जोशीको जीवनकथाको सबैभन्दा भावुक पक्षमध्ये एउटा हो—आफू डाक्टर बन्न नसके पनि उनले आफ्ना छोराछोरीलाई भने चिकित्सा क्षेत्रमा अघि बढाए।
उनका छोरा डाक्टर विवेक जोशी हाल उनीसँगै कैलाली अस्पतालमा कार्यरत छन्। छोरी काठमाडौंमा चिकित्सा क्षेत्रमा सक्रिय छिन्। बुहारीसमेत डाक्टर बनेर स्वास्थ्य सेवामा लागेकी छन्।
अर्थात्, जुन सेतो कोट उनले बाल्यकालमा आफ्ना लागि कल्पना गरेका थिए, त्यो कोट आज उनको परिवारका सदस्यहरूले लगाइरहेका छन्। तर, उनको सन्तुष्टि यतिमै सीमित छैन । उनले आफू डाक्टर बन्न नसके पनि सयौँ स्वास्थ्यकर्मीले काम गर्ने एउटा साझा छानो निर्माण गर्न सके ।
आफूले बिरामीको शल्यक्रिया गर्न सकेनन्, तर शल्यक्रिया गर्ने विशेषज्ञ चिकित्सकलाई आफ्नै संस्थामा ल्याए। आफूले बिरामीको नाडी छाम्न सकेनन्, तर हजारौँ बिरामीको उपचार हुने वातावरण बनाए।
‘डाक्टर बन्न नसकेको पीडा अब छैन’
अस्पताल स्थापना गरेपछि आफू डाक्टर बन्न नसकेको पीडा क्रमशः फिका हुँदै गएको जोशी बताउँछन्। आफ्नै सम्पत्ति बेचेर, बैंक ऋण लिएर र निरन्तर जोखिम मोलेर निर्माण गरेको संस्थाबाट मानिसको सेवा गर्न पाउनु उनका लागि ठूलो उपलब्धि हो। उनको यात्राले एउटा गहिरो सन्देश दिन्छ, ‘‘सपना पूरा नभएपछि जीवन सकिँदैन । कहिलेकाहीँ त्यही अधुरो सपना अर्को ठूलो उद्देश्यको सुरुआत बन्न सक्छ ।’’
अधुरो सपनाबाट सेवाको सफलतासम्म
आज जनकराज जोशी कैलाली अस्पतालका अध्यक्ष मात्र होइनन्। उनी स्वास्थ्य क्षेत्रका व्यवसायी, संस्थापक, व्यवस्थापक र सामाजिक अभियन्ताका रूपमा परिचित छन्।
१५ शय्याबाट सुरु भएको कैलाली अस्पताल पनि विस्तार हुँदै विशेषज्ञ स्वास्थ्य सेवाको महत्वपूर्ण केन्द्रका रूपमा अघि बढिरहेको छ। सुदूरपश्चिमका विभिन्न जिल्लाका साथै भारतबाट समेत उपचारका लागि बिरामी आउने गरेको अस्पतालले जनाएको छ। तर, यति लामो यात्रापछि पनि उनको कथाको सार सरल छ, ‘‘डाक्टर बन्ने सपना पूरा भएन, त्यसैले अस्पताल बनाएँ ।’’
सायद यही एउटा वाक्यभित्र उनको सम्पूर्ण संघर्ष, पीडा, साहस र सफलता अटाएको छ । जीवनले उनलाई सेतो कोट दिएन । तर, उनले हजारौँ बिरामीका लागि उपचारको आशा दिए । आफूले उपचार गर्न सकेनन्, तर उपचार गर्ने सयौँ हातलाई एउटा साझा छानो दिए ।
आफूले एउटा बिरामीको शल्यक्रिया गर्न सकेनन्, तर सयौँ शल्यक्रिया हुने अस्पताल बनाए । र, सबैभन्दा महत्वपूर्ण कुरा, ‘आफूले नपाएको अवसरलाई अरूले पाउने वातावरण बनाउन आफ्नो जीवनको ठूलो हिस्सा खर्चिए ।कहिलेकाहीँ जीवनले हामीले मागेको सपना दिँदैन। त्यसको सट्टा त्यसभन्दा ठूलो जिम्मेवारी दिन्छ । जनकराज जोशीको कथा त्यही जिम्मेवारीलाई स्वीकार गरेर अधुरो सपनालाई सेवामा रूपान्तरण गर्ने यात्राको कथा हो । सेतो कोट लगाउने सपना अधुरै रह्यो, तर हजारौँ बिरामीका लागि उपचारको आशा जगाए जनकराज जोशीले ।