धनगढी, २१ भदौ/होटल एसोसिएशन नेपाल (हान) सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशनले रुवस होटलका सञ्चालक प्रकाश चन्द्र भट्टको अध्यक्षतामा नयाँ प्रदेश समिति सर्वसम्मत चयन गरेको छ ।
धनगढीस्थित रुवस होटलमा शनिबार सम्पन्न अधिवेशनबाट भट्ट अध्यक्षमा चयन भएका हुन् । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा कञ्चनपुरस्थित गंगोत्री होटलका सञ्चालक जगदिश चन्द्र भट्ट र उपाध्यक्षमा सिद्धार्थ होटल कञ्चनपुरका सञ्चालक परमानन्द भण्डारी चयन भएका छन् । महासचिवमा थर्कबहादुर शाह चयन भएका छन् ।
नयाँ समितिका सदस्यहरूमा मानसिंह साउद, पदम विक्रम सिंह, नरेन्द्र खड्का, भुवनसिंह भण्डारी, चन्द्रप्रकाश ओली, बसन्ता भण्डारी, शारदा शाह, पशुपती कुँवर, नवराज जोशी, ज्ञानेन्द्र गुप्ता र दिपेश शाह चयन भएका छन् ।
हान सुदूरपश्चिम प्रदेशको प्रथम साधारण सभाको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गरेका थिए । कार्यक्रममा हानका राष्ट्रिय अध्यक्ष विनायक शाह विशिष्ट अतिथिका रूपमा सहभागी थिए । कार्यक्रमको उद्घाटन समारोह हानका अध्यक्ष दिनेश राज भण्डारीको अध्यक्षतामा भएको थियो ।
अधिवेशनले प्रदेशमा रहेका होटल तथा पर्यटन व्यवसायीबीच सहकार्य र समन्वय बढाउँदै पर्यटन व्यवसायलाई प्रदेशको आर्थिक विकाससँग जोड्ने विषयमा समेत जोड दिएको छ ।
सुदूरपश्चिम प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पर्यटनका दृष्टिले महत्वपूर्ण सम्भावना बोकेको प्रदेश भए पनि आवश्यक पूर्वाधार, प्रचारप्रसार तथा व्यवसायमैत्री वातावरणको अभावमा अपेक्षाकृत लाभ लिन नसकेको व्यवसायीहरूको भनाइ छ ।
नवनिर्वाचित समितिले होटल व्यवसायीका साझा समस्या पहिचान गरी सम्बन्धित सरकारी निकायसँग समन्वय गर्ने, पर्यटन पूर्वाधार विकासमा सहकार्य गर्ने तथा सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास गर्न पहल गर्ने बताइएको छ ।



