मिलनपुर शिविरमा निःशुल्क स्वास्थ्य शिविर, ३०६ जनाले गराए स्वास्थ्य परीक्षण

भर्खरै

धनगढी, २० भदौ/नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ को आयोजनामा धनगढी उपमहानगरपालिका–१७ स्थित मिलनपुर शिविरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
शिविरमा ३०६ जनाको स्वास्थ्य परीक्षण गरिएको नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ का प्रवक्ता प्रदीप पाठकले जानकारी दिए। स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको उनले बताए।

आर्थिक तथा अन्य कारणले नियमित स्वास्थ्य परीक्षण गराउन नसक्ने समुदायलाई लक्षित गरी आयोजना गरिएको शिविरमा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको थियो।
नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ का सभापति भीम पडालले राजनीतिक दलले जनतालाई केवल मतदाताका रूपमा नभई उनीहरूको सुख–दुःखमा साथ दिँदै सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने बताए। उनले कांग्रेसले राजनीतिक गतिविधिसँगै सामाजिक सेवाका क्षेत्रमा पनि निरन्तर काम गर्दै आएको भन्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए।

कैलाली अस्पताल प्रा.लि. तथा औषधि तथा बिक्री प्रतिनिधि संघको सहयोगमा शिविर आयोजना गरिएको हो। आयोजकले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका समुदायलाई लक्षित गरी आगामी दिनमा पनि स्वास्थ्य तथा सामाजिक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।