जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व आज मनाइँदै

भर्खरै

धनगढी, १२ भदौ/धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व आज देशभर मनाइँदैछ।
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा वैदिक सनातन धर्मावलम्बीले नदी, ताल तथा तलाउमा स्नान गरी गुरु–पुरोहितबाट मन्त्रिएको नयाँ यज्ञोपवीत अर्थात् जनै र रक्षासूत्र धारण गर्ने प्रचलन छ।
यसै अवसरमा दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधेर आपसी प्रेम, सद्भाव र दीर्घायुको कामना गर्ने गर्छन्।
तागाधारी समुदायले आफ्ना पुर्खा, ऋषि तथा महर्षिलाई सम्झँदै जल तथा तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषितर्पणी पर्वका रूपमा समेत मनाउने गरिन्छ।
जनैपूर्णिमाको अर्को विशेषता विभिन्न प्रकारका गेडागुडी मिसाएर टुसा उमारेर तयार पारिने पौष्टिक परिकार क्वाँटी हो। पर्वका अवसरमा घरघरमा क्वाँटी खाने चलनसमेत रहेको छ।