दक्ष इन्टरनेशनल स्कूलमा गुरु पूर्णिमा विशेष उत्सव, विद्यार्थीको नृत्य–गायनले माहोल उत्साहपूर्ण

भर्खरै

धनगढी, १३ साउन/धनगढी उपमहानगरपालिका–५, तारानगरस्थित दक्ष इन्टरनेशनल स्कूलले विविध सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गर्दै गुरु पूर्णिमा मनाएको छ।
गुरु पूर्णिमाको अवसरमा आयोजित कार्यक्रममा कक्षा आईकेदेखि कक्षा ४ सम्मका विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। विद्यार्थीहरूले नृत्य, गायन, स्पीच, राइम्सलगायतका प्रस्तुति दिँदै गुरुप्रति सम्मान व्यक्त गरेका थिए।

विद्यालयका अनुसार कार्यक्रममार्फत विद्यार्थीको आत्मविश्वास, सिर्जनशीलता र प्रस्तुति क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले उत्साहपूर्वक आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए।
ब्रिटिस काउन्सिलको पाठ्यक्रमअनुसार पठनपाठन सञ्चालन गर्दै आएको विद्यालयले शैक्षिक गतिविधिसँगै खेलकुद र अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिँदै आएको जनाएको छ। विद्यालय परिसरमा विद्यार्थीका लागि खेलकुद अभ्यास गर्न आवश्यक सुन्दर र व्यवस्थित वातावरण निर्माण गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल निर्मल सिंहले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि योग, मेडिटेसन, संगीत, वाद्यवादन, मार्सल आर्ट तथा विभिन्न खेलकुद गतिविधि नियमित रूपमा सञ्चालन भइरहेको जानकारी दिए। उनले विद्यालयले ‘खेल्दै, रमाउँदै र सिक्दै’ भन्ने अवधारणाअनुसार विद्यार्थीमैत्री सिकाइ वातावरण तयार गरेको बताए।

प्रिन्सिपल सिंहले विद्यार्थीहरूको उत्साहजनक सहभागिताप्रति खुसी व्यक्त गर्दै सफल कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने शिक्षक, अभिभावक तथा सबै सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरे।कार्यक्रममा अभिभावक, सञ्चारकर्मी तथा विद्यालय परिवारको उल्लेखनीय उपस्थिति रहेको थियो।