नेपालमा १२ लाख पर्यटक भित्रिए, भारतबाट सबैभन्दा धेरै आगमन

भर्खरै

धनगढी, १० साउन/आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार भारतबाट सबैभन्दा धेरै ३ लाख ११ हजार ५३१ पर्यटक आएका छन्। त्यसपछि अमेरिकाबाट १ लाख ११ हजार ३२५ र चीनबाट १ लाख ९ हजार ८९२ पर्यटक नेपाल आएका छन्।
बोर्डका अनुसार भारत नेपालको सबैभन्दा ठूलो स्रोत बजार बनेको छ, जसको हिस्सा कुल आगमनको २५.७६ प्रतिशत रहेको छ।
गत आर्थिक वर्षमा सबैभन्दा धेरै पर्यटक कात्तिक महिनामा १ लाख २४ हजार ८२९ जना नेपाल आएका थिए।
नेपाल पर्यटन बोर्डले भारत, चीनलगायत प्रमुख बजारमा ४० भन्दा बढी पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको जनाएको छ। बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐर ले अन्तर्राष्ट्रिय प्रवद्र्धन, हवाई पहुँच विस्तार र निजी क्षेत्रसँगको सहकार्यका कारण पर्यटन क्षेत्रमा सकारात्मक वृद्धि भएको बताए।
उनका अनुसार सरकारले घोषणा गरेको आरोग्य पर्यटन वर्ष २०२७ ले चालु आर्थिक वर्षमा विदेशी पर्यटक आगमन अझ बढ्ने अपेक्षा गरिएको छ।