मन्त्रिपरिषद्का ९ विधेयक संसद्‌मा लैजाने निर्णय, राहदानीदेखि कर्मचारी ऐनसम्म संशोधन हुने

भर्खरै

धनगढी, १३ साउन/सरकारले राहदानी, कर्मचारी, खानी तथा खनिज, मानव बेचबिखन नियन्त्रणलगायत विभिन्न ९ वटा विधेयक संघीय संसद्‌मा पेश गर्न स्वीकृति दिएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न कानुन संशोधन तथा नीतिगत निर्णयहरू गरिएको जानकारी दिए । बैठकले संघीय संसद्मा पेश गर्न देहायका विधेयकहरू स्वीकृत गरेको छ :
–संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका शर्त तथा सुविधा सम्बन्धी ऐन–२०५३ संशोधन विधेयक
–खानी तथा खनिज पदार्थसम्बन्धी कानुन संशोधन तथा एकीकरण विधेयक
–संक्रामक पशुरोग नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी विधेयक
–राहदानी ऐन–२०७६ संशोधन विधेयक
–मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक
–बालश्रम निषेध तथा नियमनसम्बन्धी विधेयक
–आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक
–मेलमिलापसम्बन्धी ऐन–२०६८ संशोधन विधेयक
–कर्मचारी ऐन–२०१९ संशोधन विधेयक
यसैगरी, मन्त्रिपरिषद्ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा उनले तोकेको अधिकृतलाई विदेशी विनियमसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ ।
बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा सिन्धुलीका ऐडराज दाहाललाई मनोनयन गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) छैटौं संशोधन नियमावली–२०८३ स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।